सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा निर्वाचनको पूर्व तयारी

बाँकेको चुनावी चर्चा– कुन पार्टीबाट को बन्ला उम्मेदवार ?

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र मानिने बाँकेमा आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रभाव देखाउन दलहरू तयारीमा जुटेका छन् ।

स्थानीय निर्वाचनमा ‘क्लिन स्वीप’ भएको नेकपा एमाले धूलो टक्टक्याउँदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जीत निकाल्ने तयारीमा लागेको छ ।

सत्तारुढ दलहरू नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्र गठबन्धनको बलमा एमालेलाई रोक्ने गरी निर्वाचनमा जानुपर्ने आन्तरिक गृहकार्यमा केन्द्रित देखिन्छन् तर कांग्रेस बाँकेका महासमिति सदस्य मेघराज वली जिल्लामा निर्वाचन जित्न कांग्रेसलाई कसैको बैशाखी टेक्न आवश्यक नभएको दाबी गर्छन् ।

प्रतिनिधि सभातर्फ ३ निर्वाचन क्षेत्र रहेको बाँके कांग्रेसका पूर्व सभापति एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृहजिल्ला हो ।

गत निर्वाचन २०७४ मा १ नम्बर क्षेत्रबाट माओवादीका महेश्वरजंग गहतराज ‘अथक’, २ नम्बर क्षेत्रबाट जसपाका (तत्कालीन फोरम) मोहम्मद इस्तियाक राई र ३ नम्बर क्षेत्रबाट एमालेका नन्दलाल रोकायाले जितेका थिए । बाँके हरेक निर्वाचनमा नेतृत्व परिर्वतन गर्दै आएको जिल्लामा पर्छ ।

बाँकेको १ नम्बर क्षेत्रबाट आगामी निर्वाचनमा माओवादी केन्द्रबाट युवा तथा खेलकूद मन्त्री गहतराज नै उम्मेदवार हुने चर्चा छ । एमालेबाट सूर्य ढकाल र नेपाली कांग्रेसबाट जिल्ला सभापति नारायणप्रसाद गौडेल, माधवराज खत्री र पोषण केसीको चर्चा छ । १ नम्बर क्षेत्रमा कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छन् ।

सभापति गौडेल अब पार्टीले १ नम्बर क्षेत्रबाट आफूलाई प्रतिनिधि सभातर्फ अगाडि बढाउनेमा विश्वस्त छन् । गौडेलले बाँकेका ३ वटै क्षेत्रमा कांग्रेस बलियो रहेको बताउँदै १ नम्बर क्षेत्रबाट अब आफूले कसैलाई छाड्न नसक्ने दाबी गरे । गौडेल यसअघि प्रदेशसभा उम्मेदवार थिए ।

स्थानीय निर्वाचनमा कोहलपुर, राप्ती सोनारी कांग्रेसले जितेको छ भने नरैनापुरमा जसपाले जीत निकालेको छ । गत निर्वाचनमा १ नम्बर क्षेत्रको प्रदेश सभातर्फ माओवादीबाट कृष्णा केसी र एमालेबाट आरती पौडेल निर्वाचित भएका थिए । पौडेल लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री समेत हुन् ।

२ नम्बर क्षेत्रमा यसपटक पनि इस्तियाक राई नै अगाडि सर्ने तयारीमा देखिन्छन् । राई अहिले संघीय सरकारको भौतिक पूर्वाधार मन्त्री छन् । विगतमा यो क्षेत्र स्व. सुशील कोइरालाको क्षेत्र हो । कोइरालाको क्षेत्रमा गत निर्वाचनमा कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ओमप्रकाश आजादलाई समर्थन गरेको थियो ।

यसपटक राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान मेयर धवलशमशेर राणा र एमालेबाट व्यवसायी कृष्णप्रसाद श्रेष्ठको चर्चा छ । राणा २ नम्बर क्षेत्रका लागि बलिया उम्मेदवारमा पर्छन् । उनको नेपालगञ्जमा राम्रो पकड छ । राणाले आगामी निर्वाचन लडेर बाँके २ नम्बर क्षेत्रबाट आफू विजयी हुने दाबी गरेका छन् ।

‘म प्रत्यक्ष जनताबाट अनुमोदन भएर नेतृत्वमा जाने हो । समानुपातिक बस्ने होइन । आउँदो प्रतिनिधिसभा निर्वाचन लड्छु र जित्छु पनि,’ राणाले खुलस्त भने ।

राणा एमालेको समर्थन जुटाउने तयारीमा पनि देखिन्छन् । स्थानीय निर्वाचन अगाडि उनले नेपालगञ्जमै एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए । २ नम्बर क्षेत्रमा एमालेको बलियो उम्मेदवार पनि नदेखिँदा एमालेले राणालाई समर्थन गर्ने र अन्य क्षेत्रमा राप्रपाको साथ एमालेलाई रहन सक्ने पनि देखिएको छ ।

कांग्रेसबाट लुम्बिनी प्रदेशका मन्त्री सुरेन्द्र हमाल र उनका दाजु गजेन्द्र हमालको चर्चा छ । गत असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरे पनि ४० घण्टा नबित्दै हमालले राजीनामा दिएका थिए । आगामी निर्वाचनमा तालमेल नहुने अवस्था आए २ नम्बर क्षेत्रबाट गजेन्द्र वा उनका भाइ सुरेन्द्र प्रतिनिधि सभातर्फ उम्मेदवार बन्ने दौडमा छन् ।

गत निर्वाचनमा इस्तियाक राई २१ हजार ५७५ मतका साथ विजयी भएका थिए । इस्तियाकका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनले समर्थन गरेका पशुपति दयाल मिश्रले १५ हजार ९५१ मत प्राप्त गरेका थिए । राईले मुस्लिम समुदायको मतका साथ गत निर्वाचनमा जीत निकालेका थिए ।

मिश्रलाई अहिले एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनाए पनि उनी पराजित भएका थिए । २०७४ सालमा मिश्र हृदयेश त्रिपाठी समूहबाट थिए । २ नम्बर क्षेत्रबाट प्रदेश सभातर्फ तत्कालीन फोरमका विजयबहादुर यादव र कांग्रेसका सुरेन्द्र हमाल विजयी भएका थिए । २ नम्बर क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका पर्छन् ।

बाँके ३ नम्बर क्षेत्रमा यसपटक एमालेबाट जिल्ला अध्यक्ष किस्मत कक्षपति उम्मेदवार बन्ने तयारीमा देखिन्छन् । कांग्रेसबाट बादशाह कुर्मी, महासमिति सदस्य मेघराज वली, माओवादी केन्द्रबाट ईन्द्रप्रसाद खरेल (आईपी) र नेकपा एकीकृत समाजवादीबाट दलबहादुर सुनारको चर्चा छ ।

गत निर्वाचनमा एमालेका नन्दलाल रोकाया ३१ हजार ६०१ मतका साथ विजयी भएका थिए । रोकायाका प्रतिस्पर्धी कांग्रेसका कुर्मीले २५ हजार ६१७ मत ल्याएका थिए । कुर्मी अहिले पनि उम्मेदवारको दाबेदारमा पर्छन् । २ नम्बर क्षेत्रमा प्रदेश सभातर्फ माओवादीका आईपी खरेल र एमालेका बाबुराम गौतम निर्वाचित भएका थिए । २ नम्बर क्षेत्रमा खजुरा, बैजनाथ, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका २ वडा पर्छन् ।

अध्यक्ष कक्षपतिले गत निर्वाचनको गहन संश्लेषण गर्दै पार्टीको आन्तरिक एकतालाई मजबुद बनाउँदै आउँदो निर्वाचनमा केन्द्रित हुने बताए । उनले लोकान्तरसँग भने, ‘पार्टीले अगाडि सारे यो पटक उम्मेदवार बन्ने हो । अहिले हामी पार्टी सुदृढीकरण, प्रशिक्षण, विभाग बैठक र संगठनहरूको प्रशिक्षणमा केन्द्रित छौं ।’

कक्षपति खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष पनि हुन् । उनी बाँके एमालेमा सर्वस्वीकार्य नेताको रूपमा चिनिने एमाले कार्यकर्ताहरू बताउँछन् ।

यता, कांग्रेसका युवा नेता वलीले ३ नम्बर क्षेत्रमा कांग्रेसले आफूलाई अगाडि सार्नुपर्ने बताए । ‘गठबन्धनको नाममा २–३ हजार मतको पनि जनाधार नभएका पार्टीलाई टिकट दिए दुर्भाग्यपूर्ण हुन्छ ।

त्यसैले नेतृत्वले टिकट वितरणमा सुझबुझ रूपमा विवेक पुर्‍याउनुपर्छ,’ नेता वलीले लोकान्तरसँग भने । बाँकेमा प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी र जसपाको जनाधार बराबर जस्तै देखिन्छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार १८:४६