सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गराउन नगर प्रमुख विष्टको पहल

नेपालगन्ज उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणका लागि पहल अघि बढाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका १५ वटा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुलाई बुधबार कार्यालयमा बोलाएर नगर प्रमुख प्रशान्त विष्टले जेष्ठ नागरिकको सम्मानका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गराउन आवश्यक पहल गरेका हुन् ।

‘जेष्ठ नागरिकहरु चर्को गर्मी र चिसो मौसममा घण्टौंसम्म बैंकमा लामबद्ध हुँदा एकातिर सास्ती पाएको र अर्कोतर्फ बैंकको सेवा पनि प्रभावित हुने गरेको’ मेयर विष्टले भने–‘सम्बन्धित वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आफुहरुको प्राथमिकतामा रहेको छ । यसका लागि आवश्यक ब्यवस्थापन गरेर वडाबाटै सहजरुपमा भत्ता वितरण गर्ने वातावरण तयार पार्नुहोस् ।’

मेयर विष्टले उपमहानगर भएपपछि गाभिएका वडा नम्बर–१३ देखि २३ वडासम्म पहिलो चरणमा कम्तिमा घुम्ती शिविर गरेर भएपनि सामाजिक सुरक्षा भत्ता वितरण वडा कार्यालयबाटै गर्न पहल गरे । उनले यसका लागि आवश्यक सहयोग उपमहानगरपालिका र वडा कार्यालयले गर्ने बिश्वास दिलाए ।

आगामी आर्थिक वर्षदेखि वडाभित्र रहेको बैंकलाई नै सामाजिक सुरक्षा भत्ता वितरणका लागि प्राथमिकता दिइने भन्दै उनले नगरका सम्पूर्ण वडामा बैंक पुगोस् भन्ने चाहना रहेको र त्यसका लागि आवश्यक सहयोग र सहजिकरण गर्न तयार रहेको बताए ।

वडा कार्यालयबाट घरदैलोमै बैंकिंग सेवा दिने तर, त्यसलाई निरन्तर गर्नुपर्ने पक्षमा आफु रहेको उनको भनाई छ ।

यस्तै उपप्रमुख कमरुद्दिन राईले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक तथा वित्तिय संस्थालाई उपमहानगरपालिकाबाट आवश्यक सहयोग गरिने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, लेखा अधिकृत लोकेन्द्र रावत, अधिकृत प्रविन राना लगायतले सहजिकरण गरेका थिए ।

सो अवसरमा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफुहरु सकारात्मक रहेको धारणा राखेका थिए ।

यसका लागि केन्द्रिय कार्यालयबाट अनुमति लिने प्रक्रिया तत्काल शुरु गर्ने उनीहरुले बताएका थिए । उनीहरुले बैंकदेखि वडा कार्यालयसम्म रकम लिँदा त्यसको सुरक्षा, वीमा, पहिचानमा कठिनाई जस्ता समस्यातर्फ ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार ०७:३०