सूचनाको शक्ति - The Power Of Information

        

महिलाका सवाल तथा सशक्तिकरणमा पहिलो भुमिका श्रीमानको

महिलाका सबै समस्या समाधान गर्न घरभित्रैबाट श्रीमानको भुमिका महत्वपुर्ण हुने एक कार्यक्रममा जोड दिइएको छ ।

श्रीमानको विना अनुमती महिलाले कुनै पनि कार्य गर्न नसक्ने र घर तथा बाहिर सबै तनावको रिस महिलामाथी बर्सने भएकाले महिला संधै पिडित भएर बसीरहनु पर्ने अवस्था रहेको औल्याइएको छ ।

११ नंं वडा कार्यालय नेपालगन्जको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज बुधबार गरेका सुशासन र महिला सशक्तिकरण सम्वन्धी अनुशिक्षणका सहभागि महिलाहरुले पुरुषले आफ्नै घरबाट महिलामाथीको हिंसा अन्त्य गर्न व्यवहार परिवर्तन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा सहभागि महिलाहरुले आफुहरुलाई निर्णय गर्न नदिने, आर्थिक हिसाब किताबको जिम्मेवारी नदिने, जहिले पनि दबाएर राख्ने, अरुको रिसमा कुटने, विभिन्न किसिमका दबाब दिने जस्ता वास्तविक कुराहरु सुनाएका थिए ।

कार्यक्रममा वडाध्यक्ष नन्दकिशोर कहारले मधेशी समुदायका महिलाहरुमा जागरुकताको अभावमा विभिन्न समस्या सहनुपरेको भन्दै महिलाहरुको सशक्तिकरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले वडाका महिलाहरुको क्षमता अभिबृद्धि गर्न विशेष कार्यक्रम ल्याएर सशक्तिकरणमा सहयोग पुरयाउने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा अधिबक्ताहरु सुदिप भटट्राई, पुनम श्रेष्ठ, रविन्द्र कुमार ज्ञवाली र लक्ष्मी तिवारीले सहजीकरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, वडा अन्र्तगत महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १९:३२