भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका भरे बेलुका सम्मका लागि बन्द गरिएको छ ।
झुलाघाटमा रहेको झोलुङ्गे पुलमा मर्मत गर्न लागिएकाले हिजो बेलुका ६ बजेदेखि आज बेलुका ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो ।
महाकाली नदीमाथिको यो पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
यसैबीच, दुवै देशका सुरक्षा निकायले पुलको अवलोकन तथा निरीक्षण गरेका छन् ।
वर्षौँ पुरानो झोलुङ्गे पुल बेला–बेला मर्मत गरिँदै आएको छ । झुलाघाटमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन ।
पक्की पुलको माग गर्दै बैतडीवासीले बेला बेलामा आन्दोलन समेत गर्दै आएका छन् ।
सत्यपाटी । बैतडी ।