सूचनाको शक्ति - The Power Of Information

        

तेल विक्रीमा कोटा तोक्न आयल निगमको प्रस्ताव

नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था आएको भन्दै प्रधानमन्त्रीको कार्यालय तथा आपूर्ति मन्त्रालयको ध्यानकर्षण गराएको छ ।

सोमबार दुवै निकायलाई पत्राचार गर्दै निगमले तत्काल स्रोतको जोहो नगरिए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने बताइएको छ ।

निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले लेखेको पत्रमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन नसक्ने वा मूल्य समायोजन पनि हुन नगर्ने हो भने निकट भविष्यमा आपूर्तिमा समस्या हुने बताइएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा इण्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि स्मरण गराइएको छ ।

यस्तै, निगमले पेट्रोलियम पदार्थको खपत कम गर्नका लागि सवारी साधनलाई दिने तेलमा कोटा प्रणाली लागू गर्नेलगायतका उपाय पनि अघि सारेको छ ।

जस अनुसार दुई पांग्रे सवारी साधनलाई एक पटकमा पाँच लिटर र निजी कार तथा जीपलाई २० लिटर मात्रै दिनुपर्ने प्रस्ताव गरिएको छ ।

यस्तै, जोर विजोर प्रणाली लागू गर्नुपर्ने तथा शनिबार देशका दश वटा ठूला शहरमा सवारी बन्देज गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ ।

छोटो दूरीमा सवारी साधन प्रयोगमा निरुत्साहित गर्नुपर्ने, आइतबारको बिदा पुनः लागू गर्नुपर्ने लगायतका प्रस्ताव पनि निगमले अघि सारेको छ ।

यस्तै, डिजेल र पेट्रोल गाडीको आयात बन्द गर्नुपर्ने, ढुवानीका साधनलाई पूर्ण क्षमतामा चलाउनु पर्ने सुझाव पनि दिइएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार ०७:५२