सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति भेटियो

कोभिड–१९ का बिरामीको संख्या विस्तारै बढ्दै गएको अवस्थामा नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालले गरेको आनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो ।

अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा।डा। राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङमार्फत् हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको बताउनुभयो ।

नेपालमा पछिल्लो समय नयाँ प्रजाति देखिनुले हाल नेपालमा फैलिरहेको कोरोना भाइरस यही हो या होइन भन्नेबारे पुष्टि भई नसकेको डा। श्रेष्ठ बताउनुहुन्छ ।

उहाँले अन्य ल्याबको नमुना ल्याई अनुन्धान गरिएकाले संक्रमित व्यक्ति को को हो भन्नेबारे यकिन नभएको बताउनुभयो । तर, अस्पतालले यसअघि पनि कोरोना संक्रमण उच्च गतिमा बढेका बेला यसरी नै अनुसन्धान गरी स्वास्थ्य मन्त्रालयले स्वीकृति विश्व स्वास्थ्य संगठनले पुष्टि गरेपछि मात्र मुख खोलेको थियो ।

नेपालमा कोरोना संक्रमण पछि धेरै अध्ययन अनुसन्धान भइरहेको भए पनि सरकारको गोप्य नीतिका कारण रोगका बारेमा समयमै सचेत गराउने वा सार्वजनिक गर्ने वातावरण बनिनसकेको स्वास्थ्य सेवा विभागका एक चिकित्सक बताउँछन् ।

धुलिखेल अस्पतालमा पुष्टि भएको नयाँ उपप्रजातिका विषयमा पनि अनुसन्धानकर्ताले खुलेर जानकारी गराउन नसकेकै कारण अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको बताइयो ।

अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोना भाइरस संक्रमण दर विश्वका केही देशमा पुनः बढिरहेको अवस्थालाई भने स्वास्थ्य मन्त्रालयको दैनिक सार्वजनिक हुने रिपोर्टले पुष्टि गर्छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार ०८:२६