सूचनाको शक्ति - The Power Of Information

        

सत्य विशेष

अन्तरिक्ष यात्री बन्दै दाङकी ज्योति

ज्योति भन्छिन्, ‘मैले एक्लै संघर्ष गरेर यो ठाउँमा पुग्नका लागि तीनदेखि पाँच वर्षको समय लागेको छ । सबैको साथ र सहयोग मिलेका एक वर्षमै गर्न सकिन्छ ।’

राप्ती गाउँपालिका–१ भालुबाङकी २७ वर्षीया ज्योति केसी अन्तरिक्ष यात्री बन्ने भएकी छन् । कक्षा १० सम्म लालमटियामा रहेको मुनलाइट स्कुलमा अध्ययन गरेकी उनले प्लस टु बुटवलबाट गरेकी थिइन् । पाँच वर्षअघि उनी ‘डिभी’ चिठ्ठा परेपछि अमेरिका गएकी थिइन् । उनी अमेरिका पुगेको दुई वर्षसम्म रोजगारी गरिन् । त्यसपछि उनी अमेरिकी वायुसेनामा छनौट भइन् ।

उनले भनिन्, ‘म एयरफोर्स जान लागेको घरपरिवार कसैलाई पनि जानकारी दिइँन । किनकि त्यो लामो प्रक्रिया थियो । मैले पहिलोपटक तयारी गर्दा म ३५ किलोमात्र थिएँ । त्यहाँ छनौट हुन ५० किलो हुनुपर्थ्यो । परीक्षा दिएर नाम निकाल्नुपर्ने हुन्छ । त्यसमा पनि राम्रो अङ्क आएन । फेरि मैले तीन महिनामा ५० किलो तौल पुर्याएँ । दोस्रो पटकमा छनौट भए । म छनौट भएपछि मात्र बुबाआमालाई जानकारी दिएँ ।’

त्यसपछि फेरि स्वास्थ्य परीक्षण भयो । त्यसमा पनि पास भएपछि मेरो पृष्ठभूमि जाँच भएको थियो । त्यो सबै गर्न करिब १४ महिना लागेको उनको भनाइ छ । त्यसपछि उनलाई वायु सेनाको जागिरकै क्रममा अन्तरिक्ष यात्री बन्ने अर्को अवसर पनि मिल्यो । त्यसपछि उनी त्यसका लागि अध्ययन गर्न पोल्याण्ड गइन् । अन्तरिक्षयात्री बन्नका लागि दुई हप्ताको तालिममा सहभागी भइन् ।

२७ वर्षीया उनले भर्खरै एनालग आस्टर्ड अन्तरिक्षको रिसर्च पूरा गरेकी छन् । उनले उक्त रिसर्चले आफूलाई राम्रो अनुभव दिएको पनि बताइन् । उनले भनिन्, ‘एयरफोर्समा भएका मेरा साथीहरूले यो रिसर्च एक वर्षअघि गरेका थिए । त्यो वेला मेरो समय मिलेको थियो । यो वर्ष मैले आफैंले समय मिलाएर गरेकी हुँ । मलाई यसमा एयरफोर्सले निकै सहयोग गरेको छ ।’ उनले आफ्नो युनिटको आफू यो रिसर्च गर्ने पहिलो व्यक्ति भएको पनि बताइन् ।

पोल्याण्डमा अन्तरिक्ष यात्रीको कोर्ष पूरा गरेकी उनी अब नासासँगको सहकार्यमा रिसर्चका लागि उड्ने योजना रहेको बताइन् । उनी अहिले दाङ आएकी छन् । करिब एक महिनाको बिदामा घरपरिवारलाई भेट गर्न आएको उनको भनाइ छ । उनले भनिन्, ‘त्यहाँ पुग्ने मेरो जीवनको लक्ष्य हो, तर मलाई त्यहाँ पुग्न कति समय लाग्छ, थाहा छैन । त्यो मैले एकदिन जति समय लागे पनि पूरा गर्नेछु ।’ उनले आफूलाई अवसर आएको र त्यसैलाई सदुपयोग गरेको पनि बताइन् ।

उनले मौका एकपटक मात्र आउने भएकाले पनि त्यही मौका पूरा गर्न घरपरिवारको साथ सहयोग पाएको बताइन् । उनले भनिन्, ‘घरमा ढिला उठ्दा बुबाले सधैँ भन्नुहुन्थ्यो । मानिस बिहानै उठेर अन्तरिक्षमा पुगिसके । तिमीहरू अझै बिस्तराबाट उठेका छैनौ । त्यो भनाइ नै मेरो मनमा छापा बसेको थियो । जसले गर्दा पनि आज त्यस्तै भयो । म अब अन्तरिक्षमा पुग्न लागेकी छु ।’

यस्तै उनले कुनै पनि व्यक्ति आफ्नो लक्ष्यमा पुग्नको लागि आफू जहाँ छ, त्यहीबाट गर्नुपर्ने बताइन् । उनले कुनै पनि काम गर्नको लागि टिम बनाएर जाँदा सफल हुने पनि बताइन् । उनले आफू मात्र नभई सबैको साथ सहयोगबाट नै अगाडि बढ्न सकिने पनि बताइन् । ज्योति भन्छिन्, ‘मैले एक्लै संघर्ष गरेर यो ठाउँमा पुग्नका लागि तीनदेखि पाँच वर्षको समय लागेको छ । सबैको साथ र सहयोग मिलेका एक वर्षमै गर्न सकिन्छ ।’

म धेरै खुशी छु : बुवा नरबहादुर

ज्योतिका बुवा नरबहादुर केसीले आफ्नी कान्छी छोरी अन्तरिक्ष यात्री बन्न लागेमा धेरै खुशी भएको बताए । उनले आफ्ना सन्तानले मात्र नभई गाउँ छिमेक र राष्ट्रले नै उन्नति प्रगति गरोस् भन्ने सोच विचार भएको भएको बताए । उनले सबैले प्रगति गरेमात्र देशको प्रगति हुने बताए । उनले भने, ‘नेपालीमा अरूको प्रगति हेर्न नसक्ने र एकअर्काले खुट्टा तान्ने प्रवृत्ति छ । आफूमात्र बन्ने भन्ने छ । जसले गर्दा समाज कहिले परिवर्तन हुन सक्दैन । यसलाई हटाउनुपर्छ ।’

प्रकाशित मिति : १९ असार २०७९, आइतवार १२:४२