सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

थारु समुदायमा विकराल बन्दै ‘सिकलसेल र थालेसेमिया’

रगत जाँच गरेर मात्र विवाह कुण्डली मिलाउन भेरी अस्पताल नेपालगन्जका फिजिसियन मेडिकल विभागका विभागीय प्रमुख तथा सिकलसेल, थालेसिमिया रोगका श्रोत व्यक्ति डा.राजन पाण्डेले सुझाव दिएका छन् ।

सिकलसेल एनिमिया जाँच गरिँदै । फाइल तस्वीर

पश्चिम तराईका थारु समुदायलाई वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको छ । सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगत जाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको हो ।

अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको सिकलसेल रोग रोकथामका लागि थारु समुदायलाई रगत जाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरहरूले सुझाव दिएका छन् । यतिबेला बाँकेका थारु गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्याप्छ्याप्ती बाँडिएको छ ।

सिकलसेल विशेषज्ञ डा.राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ । पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ ।

२५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने भनिएको छ । सामान्यतया विवाह गर्दा चिना हेर्ने गरिन्छ तर थारु समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ ।

सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गरी बाहकहरू पत्ता लगाएर बाहक–बाहकबीच र बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर ससमुदायले स्विकार्न जरुरी रहेको भेरी अस्पताल नेपालगन्जका फिजिसियन मेडिकल विभागका विभागीय प्रमुख तथा सिकलसेल, थालेसिमिया रोगका श्रोत व्यक्ति डा.राजन पाण्डले बताए ।

उनले पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरे । अहिले रोग नदेखिए पनि उनीहरूबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भन्ने गरिएको भन्दै उनले यसका बारेमा थारु समुदायलाई सचेत गराउन आवश्यक रहेको बताए ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बिरामी र बाहक पत्ता लगाएर समुदायमा सचेतनाका जगाउने काम भइरहेको बताए । बाँकेको थारु बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । उनले समुदाय स्तरमा देखिन थालेको सिलसेलको बारेमा नियन्त्रण र रोकथामाका निम्ति समुदायमा नै पुगेको चेकजाँच भइरहेको बताए ।

बिरामीका आफन्तहरू भने उपचारमा धेरै खर्च लाग्ने हुँदा सिकलसेल बिरामी तथा आफन्तहरू भने सरकारले बिरामीलाई बाचुन्जेल निःशुल्क औषधि गरिदिनुपर्ने माग गर्छन् । बिरामीका आफन्त रामकृष्ण थारुले निःशुल्क उपचार सरकारले गर्नुपर्ने माग राखे । उनले उपचारका लागि धेरै खर्च लाग्ने भएकोले आफूले उपचार गर्न नसक्ने अवस्था रहेको बताए ।

सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याभन्दै पश्चिमका अस्पतालहरूमा जाँच विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ । भेरीमा औषधि खाइरहेका २० जनाको यो औषधिको सीमा सकिन थालेको छ ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलबस्तु लगायतका जिल्लाका थारु समुदायमा सिकलसेल जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । यतिबेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् ।

सिकलसेलका रोगीले खाने औषधि नै महंगो छ । सरकारले अत्यावश्यक औषधिको सूचिमा सिकलसेल रोगीको औषधि पनि राखेको छ । तर बीमामा भने समावेश गरिएको छैन । जसका कारण औषधिको सीमा सकिएका बिरामीले बीमाबाट सिकलसेलका लागि चाहिने औषधि पाउन सकेका छैनन् । भेरी अस्पतालमा दैनिक ३ देखि ७ जना थालेसेमियाका बिरामीहरूले रगत चढाउने गरेका छन् ।

यसकारण स्वास्थ्य कार्यालयले बाहक पुरुष र बिरामी महिला तथा बाहक महिला र बिरामी पुरुष बीच विवाह गर्नु नहुने विज्ञहरूको भनाइ छ । स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पतालमा हप्तामा सोमवार र बिहीबार निःशुल्क उपचारको व्यवस्था मिलाइएकाले उपचार गर्न आउने बिरामीका लागि बिरामीको कार्ड बनाएर वितरण गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार १६:१०