स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् ।
शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरू गरेका हुन् ।
दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको काठमाडौँ महानगरपालिकाका स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बनेका सुमन सायमीले बताए ।
उनले दल ठीक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरूबीच छलफल सुरू गरिएको जानकारी दिए ।
सायमीले भने, ‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो । त्यहाँ बहुमतको कदर हुन्छ । एक व्यक्तिले कानुन बनाउन सक्दैन । त्यसो भएको कारण त्यसमा जाँदा दलको विकल्प दल नै हो । र, त्यसको आवश्यक्ता छ । दल ठीक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ । दलको विकल्प दल नै हो ।’
प्रदेश र प्रतिनिधि सभा निर्वाचनमामा स्वतन्त्रहरूको पनि एउटा दलको आवश्यक्ता छ भन्ने निष्कर्षका साथ आफू सो विशेष भेलामा सहभागी भएको स्वतन्त्र उम्मेदवार रविन्द्रकुमार श्रेष्ठले बताए । उनले प्रदेश र संघको निर्वाचनमा अनिवार्य दल आवश्यक पर्ने भएकाले भेलाले सो विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने सुनाए ।
श्रेष्ठले भने, ‘प्रदेश र संघको निर्वाचनमा एउटा दलको आवश्यक्ता छ नयाँ विचारसहितको । देशको समस्या यो हो । यसरी निकास दिन सकिन्छ भन्ने विचारसहितका नयाँ दल चाहिन्छ भन्ने मेरो विचार छ । प्रदेश र संघको निर्वाचनमा अनिवार्य छ दल ।’
देशभरका स्थानीय तह निर्वाचनमा भाग लिएका तथा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरू सो विशेष भेलामा सहभागी भएका छन् । ‘स्वतन्त्र उम्मेदवारी अभियान’को नाममा आयोजना गरिएको सो विशेष भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाँदा नयाँ दल बनाएर जाने निष्कर्ष निकाल्ने बताइएको छ ।
सत्यपाटी । काठमाडौं ।