तपाई हामी कोही सरकारी कार्यालयमा काम लिएर गयौं भने अधिकांश कुर्सीहरु खाली हुन्छन् । प्रायःजसो कर्मचारी बिदामै रहेको पाइन्छ । कार्यालय नगएका कर्मचारीहरु शेयर खरिदबिक्री गर्ने ठाउँमा भेटिन्छन् । आजको शेयरको मूल्य घट्छ कि बढ्छ भन्नेमा मात्र उनीहरुको ध्यान छ । काम नै छोडेर शेयरको बारेमा चासो दिन्छन्, सरकारी कर्मचारी । कोही आधा दिनमै निस्किने, कोही आउँदै नआउने, कति रमाइलो । कार्यालयमा भएका पनि शेयरको मूल्य घटेको झोकमा आएर सेवाग्राही थर्काउँछन् ।
हामी डुब्यौं भनेर सेवा लिन आउनेसँग झर्किछन् । सरकारी कर्मचारीहरुको यस्तो पाराले सेवाग्राही आजित भइसकेका छन् । सरकारी कर्मचारीको बानी व्यवहार थाहा नहुने सायदै कोही होलान् । सेवाग्राहीको सेवा नदिने र आफ्नो नानाथरी काममा झुम्मिने यो नौलो कुरा रहेन । आज हुने कामलाई साता दिनसम्म अड्काएर राखिदिने, छिटोछरितो काम नगर्ने बरु दिनभर सामाजिक सञ्जालमा गफिएर बस्ने । यो प्रवृत्ति वर्षौदेखि चलिआएको छ । जनताले दुःख पायो भने यिनीहरुलाई साह्रो आनन्द आँउछ जस्तो छ ।
अहिले त झन् यो थप भइसकेको छ । घण्टौं लाइनमा बसेर सेवाग्राहीको हातखुट्टा गलिसक्छ । यता, कर्मचारी भने शेयरको मूल्य घट्यो, मेरो यति लगानी डुब्यो भनेर काम गर्ने ढिलाइ गर्छन् । पियनदेखि हाकिमको शेयरमा लगानी छ । कुनैले लाख कुनै करोडको लगानी गरेको छ भन्ने कुरा छरपस्ट भइसकेको छ । सरकारी कर्मचारीलाई त शेयरले तनावमा पारेको छ भने निजीमा काम गर्नेको हालत के होला । सरकारीमा काम नै नगरे पनि मासिक तलब पाक्छ । कार्यालय जाऊ–नजाऊ कसैको चासोको विषय रहेन ।
तर, अन्य क्षेत्रमा लगानी गर्नेको त एकदिन काममा गएन भने तलब काटिन्छ । उनीहरुलाई चाहि तनाव छैन होला ? तनाव भए पनि त्यो उनीहरुले आफ्नो काममा देखाएका छैनन् । तर, सोही ठाउँमा उभिएर सरकारी कर्मचारीले रमिता देखाइरहेका छन् । सरकारी कर्मचारी त निकै पढेका लेखेका हुन्छन् नि ! त्यत्रो लोकसेवाको परीक्षा उत्तीर्ण गरेर आउँछन् । तर, उनीहरु नै फस्नु लज्जास्पद कुरा हो । छिटो धनी बन्ने सपना देख्नेलाई शेयरले ठिक ठाउँमा ल्याएको छ । बैंकले १०० रुपैंयाँ कित्तामा निकास गरेको शेयर चार हजार तिरेर किन्ने व्यक्ति मुर्ख होइनन् ।
हामीले गैरकानूनी क्षेत्रमा लगानी गर्नुहुँदैन भनेर थाहा हुँदाहुँदै पनि कर्मचारीले वेबास्ता गरे । दिनमा दुई गुणा र रातमा चार गुणा कमाउने सपना देख्नुको प्रतिफल हो यो । एउटा सामान्य साग बेचेर, मकै पोलेर जीविकापार्जन गर्नेहरुले समेत शेयरमा लगानी गरेका छन् । दलालीहरुले कतिसम्म ठूलो योजना बनाएका रहेछन् । बिहान कमाएर बेलुका जीविकापार्जन गर्नेलाई फसाउन दलालीहरु सफल भएका छन् । लाठादेखि बाठा सबैलाई दलालीले आफ्नो जालमा पारे । घरखेत बेचेर, जिन्दगीभर रगतपसिना बगाएर शेयरमा लगानी गर्नेहरु चुलुम्मै डुबे ।
व्यक्ति त डुब्ने भए तर शेयरमा लगानी गर्ने बैंक र सहकारी पनि सिद्धिने भो भन्ने कुरा सुन्दाचाहिँ सबै जनता आश्चर्यचकित छन् । शेयर कारोबार शुन्यजस्तै छ । किनबेच ठप्पजस्तै बनिसकेको छ । तर, शेयर दलालले दैनिक यति रकमको कारोबार भयो भनेर झुठा विवरण सार्वजनिक गरिरहेका छन् । अझै पनि जनतालाई ‘मुर्गा’ बनाउने चाल चालिरहेका छन् । सरकारले २० प्रतिशतभन्दा बढी नाफा राखेर कुनै पनि सामान बिक्री गर्न पाइँदैन भनेर प्रष्ट पारेको छ । तर, शेयर दलालीले त १०० मा किनेको शेयर चार हजारसम्म बेचे ।
खोइ त कारबाही ? कि सरकार पनि डरायो ? बैंक र सहकारीहरु घाटामा छन् । तर, शेयर दलाली भने अहिले पनि वित्तिय संस्थाले बोनस दिन्छ भनेर सिधासाधी जनतालाई झुक्याइरहेका छन् । हिजो चार हजारमा किनेको शेयर आज १०० रुपैंयामा पनि कसैले किन्दैनन् । पैसाको खाँचो परे पनि किनिदिने नहुँदा लगानीकर्ताहरु चिन्तित बनेका छन् । शेयर लगानीकर्ताको रातको निद्रा र दिनको भोक हरायो । यता, पैसा डुबेका कारण मानसिक रोगीको संख्या दिनहुँ वृद्धि हुँदैछन् । हिजो शेयरको मूल्य बढेको बेला आकाशमा उडेकाहरु अहिले पनि धर्तीमै झरेका छन् ।
आर्थिक कमजोर भएकालाई त हेपिरहेका थिए । अहिले तिनीहरु पनि सडकमा आइपुगेका छन् । चिसो भुइँमा अनशन बस्दा कस्तो लाग्दो रहेछ ? बल्ल थाहा पाए होलान् । हामी पनि सडक छाप भएछौं भनेर अनुभूति पनि गरे होलान् । पहिलेदेखि शेयरमा लगानी जोखिमपूर्ण छ भन्नेहरुको कुरा साबित भएको छ । यसअघि पनि तारन्तार शेयरमा लगानी गर्नु जुवा खेलेसरह हो भन्दाभन्दै पनि कसैले विश्वास गरेनन् । जसको प्रतिफल आफै भोग्न बाध्य भएका छन् । दलालीले हिजो पनि प्रलोभन देखाएर फसाए । अझै पनि फसाउन खोज्दैछन् ।
यसमा समाजको हरेक नागरिक चेतनशील हुन जरुरी छ । कसैले शेयरमा लगानी गर्दैछ भने उसलाई सुझाव दिनुपर्छ । शेयरमा गरेको लगानी जतिबेला पनि डुब्न सक्छ भनेर उसलाई सम्झाउनुपर्छ । सोच्दैनसोची लगानी गर्नाले सडकको बास काट्नुपर्ला । बेलैमा होस् पुर्याऔं । जिन्दगीभर अफसोस मान्नुभन्दा अहिले नै सतर्क हुन बेस । सरकारले शेयर किन् भनेर जनतालाई दबाब दिएको होइन् । हामी आफैले किनेका हौं । शेयर भनेको जुवा तास हो, भएको सम्पत्ति जुवा खेलेर नउडाऔं । भोलि टाउकोमा हात राखेर धुरुधुरु रुनुपर्ने दिन कसैको पनि नआओस् ।
आफ्ना छिमेकी, आफन्तलाई कसैले पनि बिचरा भन्न नपरोस् । बरु, बेलैमा अर्थी दिए उनीहरु बच्न सक्छन् । शेयर लगानीकर्ताहरु बाटोमा रुँदै हिँडेका छन् । घर, गाडी हुने पनि सडकमा ओइरिएका छन् । उनीहरुलाई देखेर हामीले पाठ सिक्नुपर्छ । यसलाई अझै पनि ख्यालख्यालमा लिने हो भने भोलि त्यही स्थानमा हामी हुनेछौं । हाम्रो समाजमा यस्तोसम्म मान्छे छन् कि जसले आफ्नो घरखेत नै बेचेर शेयरमा लगानी गरेका छन् । अब त्यो घरखेत फर्किएर आउँछ ? अबको एक वर्षमा शेयर झन् थिलथिलो हुँदै जान्छ । यो क्षेत्र नै तहसनहस बनिसक्छ ।
शेयर किन्ने कोही पनि हुँदैनन् । शेयरमा लगानी गर्नेहरु भाग्न अवस्था बन्छ । मुलुकको अर्थतन्त्र अझैं टाट पल्टिरहेका छन् । वित्तिय संस्थाहरुमा तरलता झनै गहिँरिदै गएका छन् । शेयर कारोबार बढ्दो होइन घट्दो छ । त्यसैले पनि आफ्नो कमाइ होस् पुर्याएर मात्र लगानी गरौं । यता, शेयरमा पनि मिडियाबाजी भइरहेको छ । शेयरको मूल्य बढ्छ भनेर सञ्चारमाध्यमहरुले बाहिर ल्याएका छन् । यो क्रम बन्द गरौं । शेयर दलालीको डुबेर केही जाँदैन । किनकि ऊसँग खर्बौको सम्पत्ति छ । तर, गरिब जनतालाई पाँच हजार डुब्नु भनेको पनि ठूलो कुरा हो ।
पाँच हजारमा दुई महिनाको चामल आउँछ भनेर उनीहरु हिँडेका हुन्छ । अहिले बैंकले शेयर धितो राखेर कर्जा दिदैनन् । अब शेयर छ भनेर राखेको प्रमाणपत्र के काम ? च्यातेपनि केही फरक पर्ने देखिदैन । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले लहैलहैमा आएर शेयर खरिद नगर्नुस् भनेर सचेतना फैलाएको छैन । शेयरमा लगानी गर्न खतरापूर्ण छ भनेर सरकारले सूचना जारी गरेका छैन । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विदेशी मुद्राको सञ्चिति घटेको बताइसकेका छन् । उता दिनहुँ बढिरहेको व्यापार घाटाले विदेशी मुद्रालाई थप चापमा पारेको छ ।
नेपालको अर्थतन्त्र बिथोलिँदैछ । श्रीलंकाजस्तो हुन बेर नलाग्ने अवस्थामा नेपाल छ । अहिले अर्बको शेयर किनबेच भइरहेको छ, तर केही महिनापछि करोड पनि हुँदैन । शेयरको मूल्य थप घट्दै आउँछ । हिजोभन्दा आज र भोलि गर्दै यो क्षेत्र सोत्तर हुन्छ । एक कप चिया नखाई जम्मा गरेको पैसा शेयरले लग्यो । गलत ठाउँमा लगानी गर्दा जीवनभरको दुःख खेर भयो । शेयर दलालीको पछि लागेर शेयर किन्ने काम हानीकारक छ । आफु पनि बचौं अरुलाई पनि बचाऔं । नाफा हुने लोभमा नफसौं ।
अनुसा थापा ।