सूचनाको शक्ति - The Power Of Information

        

समाचार

डुडुवामा कार्यपालिका बैठक सञ्चालनमा अवरोध, बजेट अनिश्चित

बाँकेको डुडुवा गाउँपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)ले कार्यपालिकामा आफनो बहुमतको आडमा बैठक अवरोध गर्दै आएपछि बैठक सञ्चालन गर्नमा समस्या भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र डुडुवा गाउँपालिका बैठक सञ्चालन कार्यविधी २०७४ अनुसार कार्यपालिका बैठकमा प्रस्तुत हुने प्रस्तावहरु अध्यक्षबाट स्वीकृत गराई प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिकाको बैठकमा सचिवको हैसियतले एजेण्डा प्रस्तुत गर्नुपर्र्ने कानूनी व्यवस्था रहको र उक्त कानूनी व्यवस्थालाई अध्ययनै नगरी कार्यसूचि विपरित एकैपटक विभिन्न विषयहरुमा छलफल गर्दा बैठक सञ्चालन गर्नमा कठिनाई उत्पन्न भएको छ ।

गाउँसभा बस्नुअघि बोलाइएको कार्यपालिका बैठकमा कानून अनुसार अध्यक्षबाट पेश हुने प्रस्ताव पेश गरिएको विषयमा छलफल नगरी अनावश्यक विषयमा वादविवाद गरि प्रस्तुत प्रस्तावमा छलफल नै गर्न नदिइ बैठक स्थागित भएको थियो भने पुन दोस्रो पटक बैठक बोलाउदा विषयमै प्रबेश नगरी कार्यपालिकाका सदस्यहरुले बाहिरी विषयको प्रस्ताव ल्याएर बहुमत देखाएर बैठक नै शुरु हुन नदिएको अवस्थामा गाउँपालिकाको नीति, कार्यक्रम र बजेटसमेत अनिश्चित बनेको छ ।

कार्यपालिकाको प्रथम बैठक जेठ ३१ गते, दोस्रो बैठक असार ६ गते र तेस्रो बैठक असार १२ गते बसे पनि कुनै पनि बैठकमा विषय प्रबेश नभई स्थागित हुँदै आएको छ । कार्यपालिकाको बैठकका लागि फोन र एसएमएसमार्फत सबै सदस्यहरुलाई खबर गरी बैठकको एजेण्डासमेत प्रस्तुत गरी सभा सञ्चालन तथा विषयगत समितिको गठन बजेटको तयारी लगायतका विषयमा निर्णय गर्दा त्यसप्रति कुनै चासो नदिई अनावश्यक विवाद सृजना गरेकाले समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

अध्यक्ष चौधरीका अनुसार गाउँपालिकाको समग्र हितका लागि पहिला नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भन्दै अनावश्यक वाद विवाद नगर्न आग्रह गरे । एमाले र जसपाका निर्वाचित पदाधिकारीहरु बैठकमा उपस्थित भएर पनि प्रक्रिया अनुसार छलफलमा सहभागी नभएको र बाहिर विभिन्न किसिमका झुठा अफुवा फैलाउने र आरोप प्रत्यारोप लगाउने कार्य गलत भएको अध्यक्ष चौधरीले बताए ।

जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने बातावरण नवनाउँदा अनाहकमा जनताले दुःख पाउने संकेत देखिन्छ । कार्यपालिकाको बैठक नबस्दा गाउँपालिकाले प्रवाह गर्ने स्वास्थ्य, पशु राजश्व शुल्क लगायतका विभिन्न सेवाहरु प्रभावित भएको अध्यक्ष चौधरीले दुःख व्यक्त गरे । एमाले र जसपाले बहुमत भएको देखाउँदै कार्यपालिकाको बैठकमा हुल हुज्जतका साथ अन्य कार्यकर्तासमेत ल्याएर बैठक भाड्ने कार्य भइरहेको हुँदा आगामी दिनमा त्यस्ता गतिविधी नगर्न अध्यक्ष चौधरीले आग्रह गरे ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार १०:५५