भारतीय जंगलमा निउरो टिप्न गएका बर्दियाका एक जनाको गोली प्रहारबाट मृत्यु भएको छ । बिहीबार अपरान्ह निउरो टिप्न गएका बर्दिया गुलरिया नगरपालिका वडा नं. ३, वनकटगाउँका हेमराज गोडियाको गोली प्रहारबाट मृत्यु भएको हो ।
दाहिने घुँडामाथि गोली लागेर गम्भीर घाइते भएका हेमराजले राति ९ बजेतिर श्रीमती र छोरालाई फोन गरेर गोली लागेको खबर गरेका थिए । खबर पाएलगत्तै छोरा गएर सीमावर्ती क्षेत्रबाट हेमराजलाई घरमा ल्याएका थिए ।
घरमा ल्याएको केहीबेरमै एम्बुलेन्स बोलाएर हेमराजलाई अस्पताल लगिएको थियो । अस्पताल लगेर उपचार गर्न नपाउदै उनको मृत्यु भएको थियो । बर्दिया प्रहरी प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले हेमराजलाई कसले गोली हान्यो भन्ने खुल्न नसकेको बताए ।
‘दाहिने घुँडा भन्दा माथि गोली लागेको छ । कसले गोली हान्यो भन्नेबारेमा हामीले अनुसन्धान गरिरहेका छौं,’ प्रहरी प्रवक्ता सुवेदीले भने । सीमा नजिक रहेका वनकटगाउँ र आसपासका मानिस भारतीय जंगलमा घाँस काट्न, साग टिप्न जाने गर्दछन् ।
सीमावर्ती गाउँका बासिन्दाले भारतीय जंगलमा घाँस काटेवापत मुन्सीलाई वार्षिक रुपमा सहयोग गर्ने बुझिएको छ । निउरो साग टिप्न गएका हेमराजलाई भारतीय वन रक्षकले गोली हानेको आशंका गरिएको छ ।
भारतीय जंगल गएका हेमराजलाई चोरी शिकारी ठानेर भारतीय वन रक्षकले गोली हानेको हुन सक्ने आकलन गरिएको छ । यस विषयमा भारतीय अधिकारीहरुले मुख खोलेका छैनन् ।
सत्यपाटी । काठमाडौं ।