सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा निःशुल्क छाला रोग शिविर

बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबार निःशूल्क छाला रोग शिविर आयोजना गरेको छ ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा छाला तथा यौन रोगका बिरामीहरुले स्वास्थ्य सेवा लिएका थिए ।

भेरी अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा.बद्री चापागाईले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । अधिकांशमा दाद, लुतो, एलर्जिलगायतका समस्या देखिएको डा.चापागाईले जानकारी दिए ।

शिविर उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले छाला तथा यौन रोगको समस्याबारे अझैपनि बिरामीहरु खुलेर आउन नसकेको अवस्थामा नगरपालिकाले ति बिरामीहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको बताए ।

उनले छाला तथा यौन रोग पहिचान र उपचारका लागि आगामी दिनमा नगरपालिकाका सबै वडामा यस्ता शिविरहरु आयोजना गरिने बताए ।

नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सिंह ठकुरीले छाला तथा यौन रोग सम्वन्धि समस्या भएका विरामीलाई लक्षित गरेर विशेषज्ञ चिकित्सकै सहभागितामा शिविर गरिएको बताए ।

यसअघि बिशेषज्ञ चिकित्सककै सहयोगमा कौशिल्या अस्पतालसँग सहकार्य गरेर पन्ध्र वटै वडामा जेष्ठ नागरिकलाई लक्षित गरेर निःशूल्क शिविर गरिएको थियो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १७:५२