सूचनाको शक्ति - The Power Of Information

        

काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली, ११ महिनामा एक अर्बको सुपारी आयात

नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ ।

नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनन् । तर त्यही कटुसको आयातका लागि अमेरिकन डलर खर्च भइरहेको छ ।

व्यावसायिकरूपमा खेती गर्नु नपर्ने, वनजङ्गलमा सजिलै पाइने तथा गाउँघरमा खेर गइरहेको कटुससमेत आयात गरेर नेपालीले परनिर्भरताको उदाहरण पेस गरिरहेका छौँ । एघार महिनाको अवधिमा ७६ किलो कटुस आयात भएको छ ।

त्यसको मूल्यमात्रै रु ४९ हजार बराबर छ । सानो परिमाण भए पनि यसबाट विदेशी मुद्रा थप विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको आयात निर्यात सम्बन्धी विवरण अनुसार १३ लाख ७४ हजार ७८६ किलो काजु आयात भएको छ ।

उक्त परिमाणमा काजु आयात गर्नका लागि रु एक अर्ब ११ करोड ९२ लाख ७६ हजार खर्च भएको छ । त्यसबाट सरकारले रु ३४ करोड ४७ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । भारत, भियतनाम, मोजाम्बिक, नाइजेरिया, चिली, अमेरिकालगायत देशबाट नेपालमा काजु आयात हुने गरेको छ ।

भारतबाट मात्रै रु ४९ करोड १७ लाख ५९ लाख मूल्यमा ५७ लाख ३५ हजार ७८ हजार किलो काजु भित्रिएको छ । त्यस्तै चालु आवको ११ महिना अवधिमा रु ७९ करोड ७१ लाख ७० हजार मूल्य बराबरमा कूल १२ लाख ४५ हजार ६८१ किलो बदाम (आल्मण्ड) आयात भएको छ ।

अमेरिकाबाट मात्रै १२ लाख पाँच हजार ३०२ किलो बदाम रु ७६ करोड ६८ लाख ८० हजार मूल्य बराबरको भित्रिएको छ । अमेरिकामा आलमण्डको ठूलो मात्रामा व्यावसायिक खेती हुने गरेको छ । नेपालको हावापानीमा पनि आमल्ड उत्पादन हुनसक्छ । नेपालीले त्यसतर्फ ध्यान दिन सकेका छैनन् ।

११ महिनामा एक अर्बको सुपारी आयात

चालु आवको गएको ११ महिनामा रु एक अर्ब ७० करोड ८५ लाख ८५ हजार मूल्य बराबरको कूल ८४ लाख ५१ हजार ४१५ किलो सुपारी आयात भएको छ । उक्त परिमाणको सुपारी नेपालले इन्डोनेशियाबाट आयात गरेको हो ।

नेपालले सुपारीको निर्यातसमेत गर्दछ । तेस्रो मुलुकबाट सुपारी आयात गरी मुख्य गरी भारतमा यसको निर्यात हुँदै गरेको देखिन्छ । नेपालले यस अवधिमा रु ५६ करोड ८७ लाख ७० हजार मूल्य बराबरको १४ लाख १० हजार ६४० किलो सुपारी निर्यात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्म यस्ता अन्य ड्राइफ्रुट्स रु एक अर्ब ४३ करोड ७१ लाख ८४ हजार बराबरको आयात भएको छ । त्यसबाट सरकारले रु ७३ करोड ६७ लाख १५ हजार राजस्वसमेत सङ्कलन गरेको छ । नेपालीले नेपालको भौगोलिक अवस्था तथा हावापानीमा राम्रो उत्पादन हुने जुनेलोसमेत आयात गरिरहेको विवरण छ ।

नेपालले चालु आवको जेठ मसान्तसम्मको अवधिमा ७७७ किलो जुनेलो रु ४० हजार मूल्यमा आयात गरेको छ । बारीका डिलमा रोप्दा हुने जुनेलो खरिद गर्न विप्रेषणबाट भित्रिएको पैसा खर्च गर्न थालेपछि त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने कुरा स्वभाविक नै भएको बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १७:१९