सूचनाको शक्ति - The Power Of Information

        

विपत् व्यवस्थापन

लुम्बिनी प्रदेश बाढीपहिरोको उच्च जोखिममा

स्वचालित वर्षा तथा बाढी मापन यन्त्र नहुँदा सूचना प्रवाहमा छिटोछरितो छैन ।

फाइल तस्वीर

यसवर्ष लुम्बिनी प्रदेशमा वर्षा औसतभन्दा धेरै पर्ने भएकाले बाढीपहिरोको उच्च जोखिम देखिएको छ । तराईका जिल्लामा बाढी र पहाडी जिल्लामा पहिरोको जोखिम रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशमा १२ जिल्ला छन् । तीमध्ये तराईका ६ जिल्ला पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा बाढीले विपत् निम्त्याउने आँकलन विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले गरेका छन् ।

त्यसैगरी, पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र पाल्पामा पहिरोको उच्च जोखिम छ । लुम्बिनीको हिमाली जिल्ला पूर्वी रूकुमलाई बाढी पहिरोको जोखिममा राखिएको छैन । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा औसतभन्दा धेरै वर्षा हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

रूपन्देहीमा तिनाउ, दाङ र बाँकेमा राप्ती र बर्दियामा बबई नदीमा आउने बाढीले जोखिम बढाएको हो । जल तथा मौसमविज्ञान कार्यालय, भैरहवाका जल तथा विज्ञान विज्ञ राजेशकुमार महतोका अनुसार यहाँ मनसुन कार्ययोजना बनाएर काम भएकाले जोखिम न्यूनीकरण गर्न सहज छ ।

सबैभन्दा धेरै समस्या तिनाउमा छ । तिनाउ बेशिनमा राखिएका दुई वर्षा तथा बाढी मापन यन्त्रमध्ये एउटा ६ महिनाअघि चोरी भयो । अर्को दुई वर्षअघि बाढीले बगाएपछि जडान गरिएको छैन । महतोका अनुसार, केराबारीमा राखिएको यन्त्र चोरी भएपछि खोजी गर्न प्रहरीलाई धेरै आग्रह गरेको भए पनि पत्ता लाग्न सकेन ।

दोभानमा रहेको यन्त्र दुई वर्षअघिको बाढीले बगाएपछि जडान हुन सकेको छैन । ‘विभागमा जानकारी गराएर जडानका लागि पटक–पटक आग्रह गर्यौं, जडान हुने कुरा भएको हो, जडान हुन सकेको छैन,’ उनले भने । स्वचालित वर्षा तथा बाढी मापन यन्त्र नहुँदा सूचना प्रवाहमा छिटोछरितो नभएको उनले बताए ।

महतोका अनुसार दोभानमा गेज रिडरले सूचना पठाउने व्यवस्था मिलाइएको छ । तर त्यो सूचना उज्यालोमा मात्र सम्भव छ । अप्ठ्यारो ठाउँ भएकाले राति सम्भव छैन । ‘बाढीको उच्च जोखिम रहेको ठाउँमा स्वचालित वर्षा तथा बाढीमापन यन्त्र राख्न प्राथमिकता दिनुपर्छ, गेज रिडरले दिने सूचना अब व्यावहारिक हुँदैन, नहुँदा त्यस्तो सूचना ठिकै हुन्छ । तर गेज रिडरले दिने सूचना छरितो छैन,’ उनले भने ।

बुटवलमा तिनाउको बहाव क्षेत्र अतिक्रमण गरी १३ हजार घर परिवार बसेकाले यहाँ विपतको उच्च जोखिम छ । मर्चवारमा तिनाउको बाढीले बर्सेनि ठूलो क्षेत्र डुबान गर्दै आएको छ । तिनाउको उपल्लो तटीय क्षेत्रमा वर्षा धेरै हुने र पहिरो गइरहने भएकाले जोखिम न्यूनीकरणको लागि ध्यान दिनुपर्ने विज्ञहरुको भनाइ छ । तीन वर्षअघि गुल्मीको सत्यवतीमा ठूलो पहिरो गयो ।

दुई वर्षअघि इस्मामा गएको पहिरो पनि ठूलै हो । रोल्पाको सुनछहरीमा सिङ्गो गाउँ पहिरोबाट प्रभावित भएको थियो । ‘वर्षा धेरै हुँदा भूकम्पले खल्किएको जमिनमा पहिरो गइरहेको छ, अहिले पनि पहिरोको जोखिम उत्तिकै छ,’ भूगर्भविद् डा.रञ्जनकुमार दाहालले भने । बाढीको जोखिम भएका राप्ती र बर्दियामा वर्षा तथा बाढी मापन यन्त्र जडान गरी चालु रहेको र मनसुन कार्ययोजना बनाएर काम गरेकाले विपत् जोखिम न्यूनीकरणको काम भएको छ ।

क्षति न्यूनीकरणको लागि वर्षा तथा बाढी मापनयन्त्र राखेर काम भएको जल तथा मौसम कार्यालय, कोहलपुरका प्रमुख विनोद पराजुलीले जानकारी दिए । राप्ती बेशिनमा पनि वर्षा तथा बाढी मापनयन्त्र चालु रहेकाले जोखिमबाट बचाउन पूर्वसूचना दिन सजिलो छ । दाङ, प्यूठान र बाँकेमा तीन ठाउँमा वर्षा तथा बाढी मापनयन्त्र जडान छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १४:१०