सूचनाको शक्ति - The Power Of Information

        

रुकुमपूर्वमा विद्युत् अनियमित, स्थानीय हैरानी

विद्युत् अनियमित हुँदा जिल्लाका उपभोक्ता मारमा परेका छन् । पटक–पटक बिजुली गइरहने कारण यहाँका सर्वसाधारणको दैनन्दिन असहज भएको छ ।

रुकुम पूर्वको सिस्ने र भूमे गाउँपालिकामा जडान भएको दिनदेखि नै नागरिकले विद्युत् सेवाको अनुभूति गर्न पाएका छैनन् । यसका कारण दिनमा व्यापार व्यवसाय प्रभावित छ भने रातमा नागरिक अन्धकारमा बस्न बाध्य छन् ।

विद्युत् अनियमित हुँदा व्यवसायी जेनरेटर चलाउन बाध्य भएका छन् । नेपाल विद्युत प्राधिकरणको लाइन अनियमित हुँदा जेनरेटर प्रयोग गरी व्यवसाय सञ्चालन गर्न बाध्य भएका हुन् । रुकुम पूर्वको सदरमुकाम समेत रहेको सिस्ने गाउँपालिका ५ र ६ नम्बर वडाको रुकुमकोट बजार र त्यस आपसाप गाउँ र भूमे गाउँपालिका–४ र ५ मा प्राधिकरणले बिजुली विस्तार गरेको छ ।

रुकुमकोटमा यसअघि स्थानीय लघु जलविद्युत उपभोग गर्दै आएका थिए भने भूमे गाउँपालिकाको ४ र ५ को साकिम गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन जडान गरिएको हो । रुकुम पूर्वमा प्राधिकरणको एक हजार ७७५ घरधुरी ग्राहक छन् । तर विद्युत् अनियमित हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको छ ।

‘बत्ति कतिखेर आउँछ जान्छ थाहा हुँदैन । झ्याप्प झ्याप्प बत्ती जाँदा दैनिक काम प्रभावित भइरहेको यहाँ सञ्चालित उद्योगले जनाएका छन् । भूमे–४ तल्लो साकिमकी जनम बुढा मगरले विद्युत् अनियमित हुँदा विद्युतीय कामकाजमा हैरानी खेप्नु परिरहेको बताइन् । बत्ती छिनछिनमै आउने जाने हुँदा जिल्ला स्थित कार्यालय र नागरिकलाई सास्ती भइरहेको छ ।

विद्युत समय–समयमा आउने जाने हुँदा विद्युतीय सामग्री समेत बिग्रिने गरेको यहाँका व्यवसायीको भनाइ छ । छिमेकी जिल्ला रुकुम पश्चिममा विद्युत् आइरहेको तर, रुकुमपूर्वमा विद्युत् अनियमिति हुनुको कारण प्राधिकरणको लापरबाही भएको सिस्ने–६ छिप्रिदहका वसन्तकुमार श्रेष्ठले बताए ।

जिल्लाको मुख्य बजारको केन्द्रविन्दुका रूपमा अवस्थित छिप्रिदह बजारमा विद्युत् मार्फत लिफ्ट खानेपानी ल्याइएको छ । विद्युत् अनियमिति हुँदा लिफ्ट नचलेपछि छिप्रिदह बजारमा पानीको चरम समस्या भइरहेको छ । घरायसी प्रयोजनका लागि पानी बोकेर ल्याउनु परेको छ ।

पानी विद्युतका कारण अवरुद्ध भएपछि सबै भन्दा होटल व्यवसायमा ठूलो मार परेको श्रेष्ठको भनाइ छ । विद्युत् अनियमित हुँदा केही होटल बन्द भएका छन् । विद्युत् प्राधिकरणले भने अन्य कुनै कारण नभई केही प्राविधिक कारणले बिजुली आउनेजाने भइरहेको बताएको छ ।

दूरीका हिसाबले टाढा हुनुका कारणले ‘भोल्टेज’ कम हुनुका साथ साथै हावाहुरी र वर्षाका कारणले पोल ढल्दा विद्युत् अनियमिति भइरहेको प्राधिकरण वितरण केन्द्र रुकुमपूर्वका सूचना अधिकारी तेजप्रकाश पुनले जानकारी दिए । जिल्लामा छुट्टै सबस्टेसन नहुनुका साथै यसअघिका विद्युत् विस्तारका क्रममा भौतिक संरचना राम्रोसँग काम नभएका कारण समस्या आइरहेको उनको भनाइ छ ।

रुकुम पूर्वमा नेपाल विद्युत प्राधिकरणको विद्युत सल्यान हुँदै रुकुम पश्चिमबाट विद्युत् आपूर्ति हुँदै आएको छ । प्राधिकरणकै कारण सास्ती र हैरानी खेप्नुपरेपछि यहाँका नागरिकले स्थानीय लघु जलविद्युत् नै उत्तम रहेको भन्दै केन्द्रीय प्रसारण लाइन जोड्न अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १२:५२