सूचनाको शक्ति - The Power Of Information

        

अन्धविश्वासले कष्ट भोग्दै सुत्केरी, एक सातादेखि गोठमा बास

जुम्ला जिल्लाको हिमा गाउँपालिका ५ कि २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाध्ने गोठमा नवजात शिशुसहित गोठमै बस्दै ।

जुम्ला जिल्लाको हिमा गाउँपालिका–५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाई गोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आएकी छन् । शाही सुत्केरी भएपछि ९ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य भएकी हुन् ।

कर्णालीमा महिलाहरू महिनावारी हुँदा हालसम्म सात दिनसम्म अझै छाउगोठमा बस्नु पर्ने अवस्था कायमै रहेको समयमा सुत्केरी हुँदा पनि गोठमै बस्नुपर्ने अवस्था आएको छ । सुत्केरी हुँदा गोठमा बस्दा शिशुसँगै आमाको स्वास्थ्य निकै खतरामा रहन्छ ।

शाही ओछयानको तलतिर गोरुलाई ओछ्याएको पराल र सोत्तरमाथि शिशुसहित एक सातादेखि गोठमै दिनरात बिताइरहेकी छन् । अँध्यारो भित्री गोठमा झ्याल नहुनु, ढोका पनि सानो हुनु, उपयुक्त छिद्र नहुनुले आमा र शिशुलाई आगोको धुवाँले अप्ठ्यारो पार्दै आएको छ ।

बच्चा जन्मिएको ६ हप्तालाई सुत्केरी समय भनिन्छ । सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई लालनपालनमा पहिलो प्राथमिकतामा राखेर बढी हेरचाह गरिनुको साथै पोसिलो खानपान, झोलिलो पदार्थमा बढी जोड दिनुपर्ने स्वास्थ्यकर्मीको तर्क छ ।

तर, सुदूरपश्चिम र कर्णालीमा देवी देवता रिसाउँछन् भन्ने डरले सुत्केरी भएकै समयमा सुत्केरी आमालाई स्याहार सुसार त परै जावस अतः हेलचक्र्याइँ गरिँदै आएको अवस्था उहिलेदेखि अहिलेसम्म ज्यूँका त्यूँ छ । सुत्केरी मनसुबा आफ्ना लागि आफैँ खाना पकाउने र गोठमा नै सुत्न बाध्य छिन् ।

सुत्केरी भएको बेला घरभित्र बस्दा देवी देवता रिसाउँछन् । त्यसैले सुत्केरी हुँदा गोठमा बस्नु परेको अवस्था आएको शाहीको गुनासो छ । उनले भनिन्, ‘यस्तो बेला घरभित्रै बस्ने चाहना त हुन्छ नि तर परम्परागत मान्यताले घरभित्र गएमा शुभ हुँदैन । नौ दिन पुगेपछि चोखो पानी अन्य विभित धार्मिक कार्य सम्पन्न गरेर घरभित्र जान्छु ।’

मनसुवाका श्रीमान् दिनेशबहादुर शाही सुत्केरी श्रीमती र छोरालाई भेट्न पटक–पटक गोठमा जान्छन् । बाहिर ढोकाबाटै सोध्छन्, अहिले अवस्था कस्तो छ मनसुबा ? रूढिवादी सामाजिक, कुसँस्कार, अन्धविश्वासले अडेको हाम्रो समाज नवजात शिशुसहित श्रीमतीलाई गोठमै राख्नु परेको दुखेसो श्रीमान् दिनेशको देखेको छ ।

घरका आमा, बुबाले नमान्ने र समाजले नानाथरी कुरा काट्ने डरले बाध्य भएर गोठमा राख्नु परेको छ । महिनावारी भएको बेला त कुरै छाडौँ सुत्केरी हुँदा श्रीमतीले छोएको पानी र खानपान अरूले खाँदैन । ‘म यता आफ्नो बच्चा र श्रीमतीको हेरचाह गर्न आउँदा पनि घरभित्र पस्ने बेला चोखिएर जानु पर्छ यदि यो गरिन भने मलाई पनि भित्र जान दिँदैनन्,’ दिनेशले भने ।

जुम्लाकी मनसुबा मात्रै एक उदाहरणकी पात्र मात्र हुन् मुगु, दैलेख, सुर्खेत, कालिकोट, हुम्ला जिल्लाका सुत्केरी बाख्रा, गाई र भैँसी बाँध्ने गोठमा छाउ बस्नुपर्ने बाध्यता छन् । सुत्केरीले छोरा र छोरी जन्माएमा गोठमा बस्दा विभेद गरिएको छ । छोरा जन्मिए नौ र छोरी जन्मिए १२ दिन गोठमा बस्नुपर्ने बाध्यता रहेको महिला स्वास्थ्य स्वयंसेविका पञ्चकला नेपाली बताइन् ।

सुत्केरी र शिशुको विशेष ख्याल गर्नुपर्ने भएकाले गाई गोरु बाँध्ने गोठमा बस्न दिनुहुँदैन भन्दा नमान्ने गरेको नेपालीको भनाइ छ । परम्परागत रूपमा चल्दै आएको प्रचलन हो, यो प्रचलनलाई कसैले पनि रोक्न सक्दैनन् स्वयंसेविका नेपालीले भनिन् ।

छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम र छाउगोठ भत्किए तर समाजको हेर्ने त्यो तुच्छ नजर कहिले भत्केन । वर्षौदेखि विद्यमान रहेको प्रथा हटाउन स्थानीय तहको विशेष भूमिका रहन्छ । तर, प्रभावकारी रूपमा काम गरेको देखिँदैन महिला विज्ञहरूको भनाइ छ ।

हालसम्म ग्रामीण क्षेत्रमा महिनावारी र सुत्केरी हुँदा गोठमा बस्नुपर्ने बाध्यता हटाउन यहाँका तीनै तहका सरकारले सकेका छैनन् । यस्तै, वर्सेनि राज्य र विभिन्न गैरसरकारी निकायबाट कर्णालीमा व्याप्त छाउपडी प्रथा उन्मुलनका लागि अभियान सञ्चालनका नाममा करोडौं रकम खर्च हुँदै आएको छ ।

कर्णालीका ग्रामीण बस्तीहरूमा जनचेतना फैलाउने नाममा राज्यको करोडौँ रकम स्वाहा हुने गरे पनि कर्णालीका लागि राज्यको यो खर्च बालुवामा पानी सहर हुने गरेको छ । छाउगोठ भत्काउन आक्रामक बनेको सरकारले कर्णालीका नागरिकको मष्तिष्कबाट छाउ हटाउन सकेको छैन ।

छाउप्रथाविरुद्ध प्रशासन, स्थानीय सरकारले अभियान नै चलाएर पनि ती अभियान छाउपडी उन्मुलनविरुद्ध हुन नसक्दा कर्णालीका ग्रामीण भेगमा सुत्केरी हुँदा समेत गोठमा बस्नु बाध्यता कायमै छ । यहाँका तीनै तहका सरकारले यस्तो कुप्रथा, कुसंस्कृतिलाई समयमै न्यूनीकरण गर्न सकेन भने प्राय कर्णालीका महिलाहरूको अकालमै ज्यान जाने खतरा बढी हुनसक्छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार ०७:५७