कर्णालीमा छाउपडी प्रथा उन्मुलनका लागि अभियानहरु सञ्चालनमा करौडौं रकम खर्च भए पनि अवस्था राम्रो हुन सकेको छैन । कर्णालीका ग्रामिण भेगमा सुत्केरी हुँदासमेत अहिले पनि गोठमा बस्नु बाध्यता कायमै छ ।
जुम्ला जिल्लाको हिमा गाउँपालिका–५ बुअमा एक महिला सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य भएकी छन् । महिलाहरु महिनावारी हुँदा सात दिन अझै छाउगोठमा बस्नुपर्ने समस्या छ ।
हिमा गाउँपालिकाका २६ वर्षीय मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाध्ने गोठमा नवजात शिशुसहित बस्दै आएकी छन् । त्यो पनि सानोे ढोका भएको अँध्यारो गोठमा । शाही गोरुलाई ओछ्याएको पराल र सोत्तरमाथि शिशुसहित एक सातादेखि गोठमै बसिरहेकी छन् ।
गोठमा झ्याल नहुुँदा आमा र शिशुलाई आगोकोे धुँवाका कारण थप समस्या भएको छ । मनसुवाका श्रीमान दिनेशबहादुर शाही सुत्केरी श्रीमती र छोरालाई भेट्न पटक–पटक गोठमा जान्छन् । रूढीवादी परम्पराका कारण नवजात शिशुसहित श्रीमतिलाई गोठमै राख्नुपरेको उनको दुःखेसो छ ।
‘घरका आमाबुबाले नमान्ने र समाजले नानाथरी कुरा काट्ने डरले बाध्य भएर गोठमा राख्नु परेको हो,’ शाही भन्छन्, ‘महिनावरी भएको बेला त कुरै छाडौं सुत्केरी हुँदा श्रीमतीले छोएको पानी र खानपान अरुले खाँदैन ।’
जुम्लाका मनसुबा मात्रै होइन, दैलेख र सुर्खेत जिल्लाको पश्चिम क्षेत्र, कालिकोट, मुगु, हुम्ला जिल्लाका सुत्केरी बाख्रा, गाई र भैंसी बाध्ने गोठमा छाउ बस्नुपर्ने बाध्यता छ । सुत्केरीले छोरा र छोरी जन्माएमा गोठमा बस्दा विभेद गरिएको छ ।
छोरा जन्मिए नौ र छोरी जन्मिए १२ दिन गोठमा बस्नुपर्ने बाध्यता रहेको महिला स्वास्थ्य स्वयमसेविका पञ्चकला नेपाली बताउँछिन् । सुत्केरी र शिशुको विशेष ख्याल गर्नुपर्ने भएकाले गाइगोरु बाध्ने गोठमा बस्न दिनुहुँदैन भन्दा पनि चेतनाको कमीले नमान्ने गरेको नेपाली बताउँछिन् ।
छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा पनि न्यूनिकरणमा चुनौती थपिएको सामाजिक विकास मन्त्रालयका सामाजिक सुरक्षा तथा महिला विकास महाशाखाका महिला विकास अधिकृत अतिना ज्ञवाली बताउँछिन् ।
‘वर्षौंदेखि विद्यमान रहेको प्रथा हटाउन स्थानीय तहको विशेष भूमिका रहन्छ । तर, प्रभावकारी रुपमा काम गरेको देखिँदैन,’ उनी भन्छिन्, ‘मन्त्रालयले समन्वयकारी भूमिका निर्वाहमा कुनै कसर बाँकी राखेको छैन । तर पनि ग्रामिण क्षेत्रमा महिनावारी र सुत्करी हुँदा गोठमा बस्नुपर्ने बाध्यता हटाउन सकेका छैनौँ ।’
सत्यपाटी । सुर्खेत ।