सूचनाको शक्ति - The Power Of Information

        

खोज/अपराध

यौन हिंसा : निशानामा बालिका

‘बालिकाहरूमाथि हुने अधिकांश बलात्कार लगायतका यौनजन्य दुर्व्यवहार आफन्त वा चिनेजानेकाबाट नै हुने गरेको छ ।’

प्रतिकात्मक तस्वीर

पूर्वी चितवनको रत्ननगर नगरपालिकाका एक पुरुषले नातामा छोरी पर्ने १४ वर्षकी बालिकालाई पटक पटक बलात्कार गर्दै आएका रहेछन् । कसैलाई भनेमा मारिदिने धम्की दिँदै ठूलोबुबाले नै बलात्कार गर्ने गरेपछि बालिकाले परिवारमा अर्कै केटासँग विवाह गर्ने अड्डी लिइन् । उमेरै नपुगी छोरीले विवाह गर्ने अड्डी लिएपछि कारण बुझ्दै जाँदा उनले ठूलोबुबाले आफूमाथि गर्ने दुर्व्यवहार सुनाइन् ।

सुरुमा नपत्याए पनि बालिकाले पछि घटनाबारे पुरै भनेपछि उनीहरूले प्रहरीलाई खबर गरे । गएको जेठ महिनामा जाहेरी परेपछि अहिले ती पुरुष पुर्पक्षका लागि थुनामा छन् । भरतपुर महानगरकी १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्दै आएपछि भरतपुर महानगरपालिका–१४ का ४७ वर्षीय तिलक महतोविरुद्ध बालिकाका परिवारले प्रहरीमा उजुरी गरे । महतोलाई प्रहरीले चैत १५ मा पक्राउ गर्यो । पीडक भनिएका महतो अहिले थुनामा छन् ।

गत चैतमा ६ वर्षकी बालिकालाई भरतपुर महानगरका एक कर्मचारीले बलात्कार गरेको उजुरी प्रहरीमा पर्यो । आफ्नै घरमा डेरा गरी बस्ने महिलाको नाबालक छोरीलाई बलात्कार गरेको आरोप लागेका भरतपुर महानगर २९ नम्बर वडाका सव इन्जिनियर जीवन पौडेल पुर्पक्षका लागि थुनामा छन् । माथिका तीन घटना चितवनमा बालिकामाथि हुने गरेका यौनजन्य दुर्व्यवहारको उदाहरण मात्रै हुन् । यहाँ पछिल्लो समय भएका यौनजन्य हिंसाको निशानामा बालिका पर्ने गरेका छन् ।

जिल्लाका न्यायिक निकाय तथा सरोकारवालाहरूको तथ्याङ्कका अनुसार बलात्कार, यौनजन्य दुर्व्यवहार, बलात्कार प्रयास लगायतका घटनामा बालिका पीडित हुने क्रम बढेको हो । नेपाल बाल संगठन चितवनले यहाँ आयोजना गरेको एक छलफलमा देखाइएको तथ्यांक अनुसार जिल्लामा उजुरीमा आउने यौनजन्य दुर्व्यवहारका घटनामा ४५ प्रतिशत बढी घटना १६ वर्ष उमेरभन्दा कमका बालिकामा हुने गरेको छ ।

बाल सङ्गठन चितवनका सभापति रविकिरण पौडेलले चितवनमा बालिकामाथि यौनजन्य दुर्व्यवहार बढ्दै गएकोले यसको न्यूनिकरणको लागि सम्बन्धित सरोकारवाला लाग्नुपर्ने बताए । उनका अनुसार चितवनमा चालु आर्थिक वर्षको जेठ महिनासम्म ७० वटा यौनजन्य दुर्व्यवहारका घटना भएकोमा ३२ जना १६ वर्षमुनिका बालिका पीडित भएका छन् ।

मानवाधिकारवादी संस्था इन्सेक चितवनले सार्वजनिक गरेको ६ महिनाको तथ्यांकमा पनि बालिका यौनजन्य दुर्व्यवहारमा बढी पर्न थालेको जनाएको छ । इन्सेक चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार चितवनमा चालु आर्थिक वर्षको पुसदेखि जेठ मसान्तसम्म २५ जना बालिका बलात्कारमा परेका छन् । अघिल्लो वर्ष यही अवधिमा यसको आधा कम अर्थात् १३ जना बालिका बलात्कारमा परेका थिए ।

चितवनको यौनजन्य दुर्व्यवहारको घटनाको तुलनात्मक अध्ययन गर्ने हो भने सबैभन्दा बढी पीडित बालिका हुने गरेका छन्, इन्सेकका चितवन प्रतिनिधि दीपेन्द्र अधिकारी भन्छन्, ‘बढीजसो दुर्व्यवहार परिवार, नाता र विद्यालयका शिक्षकबाट हुने गरेको छ ।’ जिल्लामा बढ्दै गएको बालिकामाथि यौन दुर्व्यवहारका कारण अस्पतालमा पनि बलात्कारका घटनामा १८ वर्षमुनीका बालिका ४३ प्रतिशत बढीले स्वास्थ्य जाँच गर्ने गरेको तथ्यांक छ ।

भरतपुर अस्पतालमा रहेको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) बाट सेवा लिने बालिकाहरूको तथ्यांकले पनि बालिकामाथि यौनजन्य दुर्व्यवहार बढ्दै गएको देखाउँछ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालमा बलात्कारपछिको स्वास्थ्य परीक्षण, घरेलु हिंसामा भएको कुटपिट, मनोसामाजिक परामर्श लगायतका घटनाका पीडित निःशुल्क उपचारको लागि ओसीएमसीमा आउने गर्छन् ।

अस्पतालको ओसीएमसीमा यो आर्थिक वर्षमा उपचार गराउनेहरूको तथ्यांक हेर्दा जन्मेदेखि १४ वर्षसम्म उमेरसमूहका ४८ जना र १४ देखि १८ वर्षसम्मका ५७ जना बालिकाले यो सेवा लिएका छन् भने कुल सेवा लिनेको संख्या २४४ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार परिवार र नजिकैका आफन्तबाट अधिकांश बालिकाहरू यौनजन्य दुर्व्यवहारमा परेका छन् ।

डीएसपी अधिकारी भन्छन्, ‘बालिकाहरूमाथि हुने अधिकांश बलात्कार लगायतका यौनजन्य दुर्व्यवहार आफन्त वा चिनेजानेकाबाट नै हुने गरेको छ ।’ डीएसपी अधिकारीले उजुरी आउने क्रम बढ्नुको साथै न्यायिक प्रकृयामा बालिका दबाबमा पर्ने कारणले न्याय पाउन पनि समस्या रहेको पनि बताए ।

 

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार १५:४३