निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीय स्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए ।
प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मतगणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे ।
प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथार्थपरक भएको स्पष्ट पारे । आयोगले स्थानीय तह निर्वाचनबारे सातवटै प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचन २०७९ ऐतिहासिक रुपले सफल भएको पनि बताए । उनले निर्वाचन हुने नहुने राजनीतिक दलबीच र जनताबीच अनेक आशंका रहँदारहँदै पनि आयोगले निश्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रुपले निर्वाचन गर्न सफल भएको बताए ।
सबैको अथक प्रयास र सहयोगले निर्वाचन सफल भएको उनको भनाई छ । स्थानीय तह सदस्य निर्वाचन सफल भएलगत्तै आउने कात्तिक वा मंसिरसम्म प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन गर्नुपर्ने जिम्मेवारी भए पनि अहिलेसम्म सो निर्वाचनको मिति घोषणा हुन बाँकी रहेको उनले बताउ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘अहिलेसम्म मितिबारे कुनै निर्णय भएको छैन, कसले के मिति सार्वजनिक गर्दैछन् त्यसमा नपर्नुहोला, आयोगले सरकारलाई अहिलेसम्म निर्वाचनको मिति सिफारिस गरेको छैन ।’ निर्वाचनमा केही ठाउँमा सामान्य समस्या आए पनि तुलनात्मक रुपमा निर्वाचन सफल रहेको उनले बताए ।
रौतहटमा निर्वाचनताका केही समस्या भए पनि दोषीको पहिचान हुँदाहुँदै पनि कारवाही गर्न नसक्नु विडम्बना भएको बताए । गल्ती गर्नेलाई कारवाही नगरिए आउने निर्वाचनमा पनि छिटपुट समस्या आउनसक्ने उनले प्रष्ट पारे ।
निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी होऊ्न भन्ने आयोगको चाहना र इच्छा भए पनि अझै चाहेकोजस्तो सहभागीता गराउन नसकेको र आगामी दिनमा त्यसका निम्ति आयोग प्रयासरत रहने उनले बताए । निर्वाचन सफल बनाउन सबै पक्षबाट अथक सहयोग प्राप्त भएकाले उनले सबैलाई धन्यवाद ज्ञापन गरे ।
आयोगले यसअघि सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको र केन्द्र तहमा आज समीक्षा गर्न लागिएको उनले जानकारी दिए । यसअघि बुधबार राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरी समीक्षा गरिएको उनले बताए ।
निर्वाचन सम्पन्न गराउन सरकारले ऐन, नियम र विनयिमावलीहरु बनाएको भए पनि अझै पर्याप्त हुन नसकेको बताउनुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले समीक्षा बैठकमा त्यसबारे मिहिन ढंगले सुझाव दिन सहभागी सबैमा आग्रह गरे । ‘निर्वाचनताका भएका चुनौति, समस्या र जटिलता के के आए, त्यसलाई सुझावको रुपमा राखिदिनुहोला,’ उनले भने ।
कार्यक्रममा आयोगका प्रवक्ता तथा सहसचिव शालीग्राम शर्मा पौडेलले आगामी निर्वाचनका लागि असार १ गतेदेखि पुनः मतदाता सूची दर्ताको काम शुरु गरिएको जानकारी दिए । स्थानीय तह सदस्य निर्वाचनका लागि बाजुराको बुढीगंगा नगरपालिकाबाहेक सबै ठाउँको परिणाम आइसकेको उनले बताए । बाजुरामा असार २३ गते निर्वाचन गर्ने मिति तोकिएको उनले बताए ।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भए पनि निर्वाचनमा ६५ दल निर्वाचनमा सहभागी भएका थिए । निर्वाचनमा २४ दलले कुनै न कुनै रुपमा प्रतिनिधित्व गरेको उनले बताए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख ४५ हजार १३ जनाले मनोनयन दर्ता गरेको उनले बताए ।
सो अवसरमा प्रवक्ता पौडेलले स्थानीय तह सदस्य निर्वाचनमा करिब ४१ प्रतिशत महिलाको सहभागिता भएको बताए । देशभर एकै चरणमा निर्वाचन गर्न आयोग सफल भएको र यो अहिलेसम्मको निर्वाचनभन्दा फरक र सफल रहेको उनले चर्चा गरे ।
समीक्षा कार्यक्रममा आयोगका आयुक्त ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर राणासहित सरकारी प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
आयोगले नागरिकको गुनासो सुन्नका लागि कल सेन्टरको व्यवस्था गरेको र गुनासोलाई सम्बोधन गर्ने अधिक्तम प्रयास आयोगले गरेको प्रवक्ता पौडेलले बताए । त्यस्तै, सञ्चार माध्यमसँग हरेक हप्ता पत्रकार सम्मेलन र विशेष अवस्थामा पत्रकार सम्मेलन पनि गरिएको उनले बताए ।
मतगणनाको काममा केही ढिलाई भएको गुनासो आएको र मतदाता शिक्षा कमजोर भएको पनि गुनासाहरु आएको प्रवक्ता पौडेलले बताए । सातवटै प्रदेशमा गरिएको समीक्षा र केन्दीय कार्यक्रममा आएको समीक्षालाई ध्यानमा राखी आयोगले आगामी दिनमा अगाडि बढ्ने उनले बताए ।
सत्यपाटी । काठमाडौं ।