सूचनाको शक्ति - The Power Of Information

        

शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताको बैठक

पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने रणनीति लिएका डा. शेखर कोइरालाले आज आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकता साथ उठाउने तयारी गरेका कोइरालाले आज दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाएको उनी निकट नेता चन्द्र भण्डारीले जानकारी दिए ।

भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षलेे सभापति देउवाको आलोचना गर्दै आएको छ ।

आजको बैठकमा ती विषयसहित समसामयिक राजनीति र आर्थिक परिस्थितिबारे छलफल गर्ने कोइराला पक्षका नेताहरुको भनाइ छ ।

महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ ।

कांग्रेसको पछिल्लो १४ औं महाधिवेशन गत मंसिरमा सम्पन्न भएको थियो । सभापति देउवाले पार्टीको कोषाध्यक्ष पनि मनोनित गर्न सकेका छैनन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार ०९:२२