सूचनाको शक्ति - The Power Of Information

        

राप्तीनदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

अविरल वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, पछिल्लो ६ घण्टामा बाँकेमा १५० मिलिमिटर वर्षा मापन भएको छ । दिउँसो २ बजे राप्ती नदीमा पानीको सतह ४ दशमलव ०९९ मिटर रहेको छ ।

बुधवार दिनभरि मध्यम वर्षात भइरहेकाले राप्ती नदीमा पानीको सतह बढ्न सक्नेछ । कुसुमस्थित राप्ती नदीमा पानीको सतह पाँच मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ ।

राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुरलगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन सूचना जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

नदीमा बाढी बढेकाले माछा तथा बगेर आएका काठ दाउरा छोप्न नदीमा पस्ने काम नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १८:०८