बाँके जिल्लामा यस वर्ष वर्षा ढिलो हुँदा १५ असार अर्थात धान दिवसका दिन बुधवारसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।
सो कार्यालयका प्रमुख सागर ढकालका अनुसार गत वर्ष धान दिवसको दिनसम्म पुग्दा जिल्लामा ४५ प्रतिशत रोपाई सकिएकोमा यस वर्ष वर्षा नहुँदा हालसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको बताए ।
जिल्लाका करिब सबै किसानको व्याड तयार रहेकाले मंगलवार रातीबाट ठूलो वर्षा भएकाले अब तिव्र गतिमा रोपाइँ हुने उनले बताए ।
गत वर्ष समयमा आकाशे पानी परेकाले किसानले धान दिवस मनाइँरहँदा आधा जति रोपाइँ सम्पन्न गरिसकेकोमा यस पटक भर्खरै शुरु भएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।
केन्द्रका प्रमुख ढकालले हालसम्मको अवस्थालाई हेर्दा यस वर्ष विगतभन्दा ढिलागरी रोपाई सम्पन्न हुने देखिएको छ ।
गत वर्ष एक कठ्ठा क्षेत्रफल रहेको खेतमा एक क्वीन्टल १५ किलो धान फलेकामा यस वर्ष औसतमा एक कठ्ठामा डेढ क्वीन्टलसम्म धान फल्ने आशा गरिएको केन्द्रले जनाएको छ ।
बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुनेगरेको छ । जिल्लाका अधिकांश किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गर्ने तयारी गरेका छन् ।
बाँकेमा यस वर्ष राप्तीसोनारी ३ भगवतिपुरमा विविध कार्यक्रम गरेर औपचारिक रुपमा धान दिवस मनाइएको ज्ञान केन्द्र नेपालगन्जका प्रमुख ढकालले बताए ।
धान दिवसको अवसरमा राप्तीसोनारी ३ भगवतिपुरमा कृषि ज्ञान केन्द्र, वाली संरक्षण प्रयोगशाला खजुरा र माटो तथा मल परीक्षण प्रयोगशाला खजुराको संयुक्त आयोजनामा सामुहिक धान रोपाइँ, हिले दौड, हिले कबड्डी र रोपाई प्रतियोगिता गरिएको बताए ।
सो कार्यक्रमका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मानषिसिंह थारु रहेकी थिइन् । कार्यक्रममा उक्त क्षेत्र वरिपरिका किसानहरु ठूलो संख्यामा जम्मा भएका थिए ।
सत्यपाटी । बाँके ।