सूचनाको शक्ति - The Power Of Information

        

राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदवाट राजिनामा दिएकी छन् ।

राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसी समक्ष राजीनामा बुझाएको लुम्विनी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए ।

राज्यमन्त्री वलीले गएको जेठ ३१ गते दाङका वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनको श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि प्रदेश सरकारले छानवीन समिति गठन गरेर घटनाको अध्ययन गरिरहेको छ ।

लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठन भएको छानवीन समितिले केही दिनअघि दाङ गएर घटनाको विषयमा छानवीन गरेर फर्केको थियो ।

छानवीन समितिले प्रतिवेदन दिने तयारी गर्दै गर्दा वलीको राजिनामा आएको छ । दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा उनका श्रीमति र छोरीमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर बुटवल पठाएको थियो ।

बुटवलमा राज्यमन्त्री वलीको मधुमेह र उच्च रक्तचाप बढेपछि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । पछि उहाँ डिस्चार्ज भएपछि दाङ फर्किएकी थिइन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १४:५०