सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

बर्षापछि बाँकेमा ‘हाइ अलर्ट’

गएरातीबाट शुरु भएको बर्षाले बाँके जिल्लाका नदी र खोलाहरुमा पानीको सतह बढ्न थालेपछि संवेदनशील क्षेत्रमा ‘हाइ अलर्ट’ (उच्च सतर्कता) अपनाइएको छ ।

यस वर्ष बाढी र डुबानबाट जिल्लाका ५० हजार नागरिक प्रभावित हुने आकलन पहिले नै गरिसकेकोले मनसुन शुरु भै नदी खोलाहरुमा पानी बढ्न थालेपछि जिल्लामा हाइ अलर्ट जारी गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।

गएरातीबाट निरन्तर वर्षा भैरहेकोले नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहन निर्देशन दिनुका साथै पालिकास्तरीय आपातकालीन सञ्चालन केन्द्र र उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

उनले जल मापन केन्द्र कुसुमले बिहान साढे दस बजेसम्म राप्ती नदीमा पानीको सतह बढिरहेको जानकारी गराएकोमा अहिले पानीको सतह घटिरहेको जानकारी गराएको बताए । बुधवार बिहान साढे दस बजे राप्ती नदीमा पानीको सतह ३ दशमलव १५ मिटर पुगेको थियो भने १० बजेर ५० मिनेट जाँदा ३ दशमलव १८ मिटरमा झरेको छ ।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर पुगेमा चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । अहिले घट्दै गए पनि वर्षा दिनभरि हुने अनुमान गरिएकोले सबैलाई हाई अलर्टमा राखिएको प्रजिअ खत्रीले बताए । उनका अनुसार बाढी र डुबानको उच्च जोखिम रहेका ठाउँहरुमा सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको र सबै ठाउँमा उच्च सतर्कता अपनाइएको छ ।

सोही प्रकारले राप्ती नदी, डुडुवा खोला र अन्य विभिन्न खोला किनारका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरिसकेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले बताए । राप्ती नदीमा पानीले खतराको सतह पार गरेमा डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुवानमा पर्ने गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १२:३९