राष्ट्रिय निकुञ्जको भित्री क्षेत्रमा बाघको सङ्ख्या बढेपछि बासस्थान र आहाराको खोजीमा बाघ निकुञ्जभन्दा बाहिर हिँडडुल गर्न थालेका छन् ।
हिजोका दिनमा बाघ नहिँड्ने तर स्थानीयवासीले दैनिकजसो आवतजावत गर्ने ठाउँमा बाघको विचरण हुन थालेपछि मानव वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन् ।
गाईबस्तु चराउँदा, घाँस, दाउरा, स्याउला सोत्तर सङ्कलन गर्दा, निउरो तथा च्याउ टिप्न आउजाउ भइरहने स्थानमा बाघ आउन थालेपछि पछिल्ला दिनमा बाघको आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।
नरभक्षी बाघले मान्छे खाएको केही दिनसम्म निकुञ्ज प्रशासनले बाघलाई समात्ने कोसिस गर्छ, पीडितलाई राहतको प्रक्रियाको थालनी गर्छ । एउटा घटना शान्त हुन नपाउँदै अर्का घटनामा बाघले मान्छे मारिसकेको हुन्छ ।
विश्व वन्यजन्तु कोषका वनजन्तुविज्ञ रामप्रित यादव पछिल्लो समय बाघको सङ्ख्या बढेकाले बाघले आफ्नो बासस्थान विस्तार गरिरहेको तर्क गर्छन् ।
उनले भने, ‘बाघको सङ्ख्या क्रमशः बढ्दै छ । हाम्रो निकुञ्जको क्षेत्र सीमित छ, अनि बाघ बाहिर आउने नै भयो । बाहिर आउँदा मान्छेसँग ठोक्किन पुग्छ ।’
गत पाँच वर्षमा बाघको आक्रमणबाट बाँके र बर्दियामा २९ जनाको मृत्यु भएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार गत पाँच वर्षको अवधिमा बर्दियामा २३ र बाँकेमा छ जना गरेर २९ जनाको मृत्यु भएको हो ।
त्यसैगरी गत एक वर्षको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट १६ जनाको ज्यान गइसकेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार जब बाघ घाइते वा कुनै कारणले कमजोर हुन्छ, अनि निकुञ्जभन्दा बाहिर आएर आहाराको मौका छोपेर बसेको हुन्छ । त्यस्तो क्षेत्रमा मानिसको आवतजावत हुँदा दुर्घटना हुने गरेको छ ।
मान्छेलाई आक्रमण गरेको समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिने क्रममा हाल चितवनमा तीनवटा बाघ खोरमा राखिएका छन् । बर्दियाबाट छ र बाँके राष्ट्रिय निकुञ्जबाट एउटा बाघ नियन्त्रणमा लिएर खोरमा राखिएका हुुन् ।
चितवनको खोरमा राखिएकामध्ये चारवटा नरभक्षी नभएको भन्दै निकुञ्जभित्रै छाडिएका छन् भने खोरमा राखिएको एउटा बाघको मृत्यु भएको छ । मान्छेलाई आक्रमण गर्ने सबै बाघ नरभक्षी र समस्याग्रस्त हुन नसक्ने प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ ।
बाघविज्ञ डा.झमक कार्कीका अनुसार कहिलेकाहीँ बाघ विचरण गर्ने क्षेत्रमा मानिसको अनावश्यक प्रवेश हुँदा पनि दुर्घटना हुन सक्छ । त्यस्ता घटनामा बाघ नरभक्षी र समस्याग्रस्त नभई बाघले आफू असुरक्षित ठानेपछि मान्छेलाई आक्रमण गरेको हुन सक्ने उनको भनाइ छ ।
मान्छेको रगतमा नुनिलोपन बढी हुने भएकाले एक पटक मान्छेको रगतको स्वाद लिएको बाघले दोस्रो पटक पनि मान्छे नै खोज्ने गरेको बताइन्छ । यद्यपि निकुञ्जका पशुचिकित्सक डा.विजय श्रेष्ठ बाघ नरभक्षी किन भइरहेको छ भन्ने कुरा हालसम्म अध्ययन हुन नसकेकाले ठोस कारण भन्न नसकिने बताउँछन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाएर सहअस्तित्व कायम गर्न निकुञ्जले पहिलो पटक पाँच वर्षीय रणनीतिक योजना बनाएर काम सुरु गरिसकेको बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.बाबुराम लामिछाने निकुञ्जभित्र कतिपय अवस्थामा बाघ एकापसमा जुधेका घटना बाहिर आएकाले पनि उनीहरूमा आहाराको कमी छ भन्ने देखाएको तर्क दिन्छन् ।
एक वयस्क भाले बाघले ४० वर्गमिटर र पोथी बाघले ३० वर्गमिटरलाई आफ्नो विचरण क्षेत्र बनाएको हुन्छ । कुनै पनि बाघले आफ्नो विचरण क्षेत्रमा अरू बाघ आउन दिँदैन ।
चितवन–पर्सा कम्प्लेक्समा गरिएको एक सर्वेक्षण अनुसार निकुञ्जमा बाघको आहाराजन्य जनावर प्रतिवर्ग किलोमिटरमा ७२ वटा भेटिएका छन् । बाघको आहारामा मृग, बँदेल, जरायो, गौरीगाई, नीलगाई, चित्तल, हरिण, बाह्रसिङ्गा लगायतका वन्यजन्तु पर्छन् ।
सत्यपाटी । बाँके ।