सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

भोलिसम्म नै झरीको सम्भावना, तराई र पहाडी क्षेत्रमा जोखिम धेरै

सतर्कता अपनाउन मौसमविद्को आग्रह

गएरातिदेखिको झरी अझै रोकिएको छैन ।

भोलि दिउँसोसम्म झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँकाअनुसार केही ठाउँमा आज पानी पर्न रोकिए पनि केहीबेर पछि फेरि पर्ने छ ।

भोलि दिउँसोपछि भने मौसममा केही सुधार आउने उहाँले जानकारी दिनुभयो । हिजोदेखि नै तराई र पहाडी जिल्लामा ठूलो वर्षा भइरहेको छ ।

विशेष गरी लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अति ठूलो पानी परिरहेको मौसमविद् पौडेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा प्युठानमा १ सय ४० मिलिमिटर पानी परेको छ ।

यस्तै, पोखरामा १ सय ६४, पाल्पामा १ सय ४८, नेपालगञ्जमा १ सय ४५, दाङमा १ सय ३५, रौतहटमा १ सय ६ र कैलालीमा ९५ मिलिमिटर वर्षा मापन भएको छ । एक सय मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति भारी वर्षा भन्ने गरिन्छ ।

यसैबीच, लगातारको झरीले बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, यात्रा गर्दा पनि मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार ०८:०८