एमाले र राप्रपाले भारतबाट बास्तविक किसानलाई सहज रुपमा मल ल्याउन दवाव दिएपछि बाँके प्रशासनले नाकामा खटिएका सुरक्षाकर्मीलाई बाधा नपुर्याउन निर्देशन दिएको छ ।
राजनीतिक दल र किसानले मल आपूर्ती सहज बनाउन माग गरेपछि आफ्नो खेतवारीमा प्रयोग गर्न भारतबाट मल ल्याउने किसानलाई बाधा नपुर्याउन नाकामा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
उनले खेतिपातीका लागि ल्याउने किसानको पहिचान गरि मल ल्याउने किसानलाई दुख नदिन नाकामा खटिएका सुरक्षाकर्मीलाई सूचना पठाएको बताए ।
उनले रासायनिक मल नहुँदा कृषकले धान रोप्न नसकेको गुनासो आएपछि किसानलाई भारतबाट मल ल्याउन केहि खुकुलो गरिएको बताए ।
बाँकेका किसानले नेपालगञ्ज, नरैनापुर, डुडुवाको होलिया, हिरमिनिया, खजुराको राधापुर र जानकी गाउँपालिकाको साईगाउँलगायत नाकाबाट रासायनिक मल ल्याउने गरेका छन् ।
यी नाकाबाट मल ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने गरेको गुनासो किसानको छ । भारतबाट साइकल र मोटरसाइकलमा ल्याएको मल बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारी गाउँपालिकासम्म पुग्ने गरेको छ ।
सत्यपाटी । बाँके ।