सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा हत्यालाई दुर्घटनाको रुप दिन खोजिएको खुलासा

पक्राउ परेका हत्यामा संलग्न व्यक्तिहरु ।

बाँकेको बैजनाथ गाउँपालिका ४ को एलबीचोकको रत्न राजमार्गमा एक युवकलाई आक्रमण गरी गम्भीर घाइते बनाइ दुर्घटनाको रूप दिन खोजिएको पाइएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको जानकारी पाएलगत्तै आक्रमणमा संलग्न चार जना किशोरलाई पक्राउ गरेको छ ।

सोमवार बिहान २ बजेतिर कुटपिटपछि बीच सडकमा छोडिएका बैजनाथ ६ का ३० वर्षीय मिलन भनिने क्षितिज खड्कालाई प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाएको थियो । त्यसपछि बिहान एम्बुलेन्सबाट काठमाण्डौको वीर अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ज्यान गएको थियो ।

प्रहरीले घटनामा संलग्न बैजनाथ ३ का सुन्दर शाही, पूर्ण बुढामगर, खगेन्द्र थापा मगर र वडा नम्बर ४ का गोविन्द विकलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

घटनाबारे जानकारी पाएलगत्तै खटिएको इलाका प्रहरी कार्यालयको टोलीले तीन घण्टामै घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेका चार जना जन्मदिनको कार्यक्रम र कटेजमा राति अबेरसम्म रक्सी खाएर बिहान २ बजेतिर घर फर्किने क्रममा चिसापानीबाट पैदल कोहलपुर आउँदै गरेका खड्कासँग भेट भएको थियो ।

खड्काले बसपार्क जाने बाटो सोधेपछि विवाद उत्पन्न भएको उनीहरूले प्रहरीसँग स्वीकार गरेका छन् । त्यसपछि चारै जनाले लाठीलगायतले खड्कामाथि प्रहार गरेका प्रहरीले जनाएको छ ।

घटनालाई दुर्घटनाजस्तो देखाउन उनीहरूले खड्कालाई बोकेर सडकको बीच भागमा राखी आ–आफ्नो घरमा सुत्न गएको डीएसपी मल्लले बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १७:३२