सूचनाको शक्ति - The Power Of Information

        

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन समस्या

हावाहुरीले विद्यालयको छाना उडाएपछि जिल्लाको एक विद्यालयमा पठनपाठनका लागि समस्या भएको छ । विद्यालयको अफिसमा राखेर विद्यार्थी पढाउने गरिएको छ ।

जिल्लाको शारदा नगरपालिका ५ रानीकोटमा रहेको सरस्वती विद्या मन्दिर प्राथमिक विद्यालयमा हावाले छाना उडाएपछि शिक्षक र विद्यार्थी एउटै कोठामा बस्दै आएका हुन् ।

गत जेठ २८ गते आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाएपछि कक्षा कोठाको अभावमा विद्यार्थीलाई विद्यालयको कार्यालयमा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ ।

कक्षा ३ मा पढ्ने विद्यार्थीलाई अफिसमै राखेर पढाउँदै आइरहेको विद्यालयका प्रधानाध्यापक मोहनलाल विष्टले बताए । दिउँसो गर्मी धेरै हुने भएपछि खुला आकाशमुनि विद्यार्थीलाई राखेर पढाउन समस्या भएपछि अफिसमा राखेर पढाउँदै आइरहेको उनको भनाई छ ।

भवनको छाना राखिदिन माग गर्दै शारदा नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पुगे पनि कुनै सुनुवाई नभएको विद्यालय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १६:४७