सूचनाको शक्ति - The Power Of Information

        

रुकुमपूर्वमा बर्सेनि घट्दैछ धान खेती

रुकुमपूर्वमा बर्सेनि धान खेती घट्दै गएको छ । पहिलेको तुलनामा पछिल्ला केही वर्षमा यस जिल्लामा धानखेती घटेको छ ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुमपूर्वले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४–०७५ भन्दाअघि जिल्लाको ५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको थियो ।

कार्यालयका कृषि अधिकृत थलबहादुर बस्नेतका अनुसार पाँच वर्ष अघिसम्मको जिल्लाको तथ्याङ्कमा धान खेती भइरहेको क्षेत्रफल पाँच हजार ३७ दशमलव २८ हेक्टर थियो ।

अहिले जम्मा एक हजार ४१९ दशमलव ४२ हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको कृषि अधिकृत बस्नेतले बताए । पहिले जिल्लाको तीन वटै पालिकाको विभिन्न ठाउँमा हुने धानखेती अहिले दुई वटा पालिकामा मात्र सीमित रहेको छ ।

विगत केही वर्षयता पुथा उत्तरगङ्गा गाउँपालिकामा धानखेती हुन छोडेको छ । भूमे गाउँपालिकाको ३ नम्बर वडा सीमाको थोरै क्षेत्रमा मात्र धानखेती हुने गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुमपूर्वले जनाएको छ ।

सिस्ने गाउँपालिको भने ३, ४, ५, ६, ७ र ८ नं वडामा धानखेती हुँदै आइरहेको छ । यी ठाउँको खेतमा पनि पहिलेको जस्तो धानखेती भने हुँदैन । विस्तारै प्रायःमानिसले खेतलाई बाँझो छोड्दै गएका छन् ।

धानखेती हुने खेतमा अहिले मानिसले मकै रोपेका छन् भने नदी किनाराका खेत बगरमा परिणत भएका छन् । कतिपयले धानको ठाउँमा तरकारी खेती पनि गर्दै आएका छन् ।

जिल्लामा पहिलेको जस्तो धान खेती नहुँनु, सिँचाइ सुविधा नहुनु, युवाहरु कृषिमा आकर्षित नहुनु, वैदेशिक रोजगार र आम मानिस सहर केन्द्रित हुनुले पनि धानखेतीमा कमी आएको कृषि कार्यालयका कृषि अधिकृत बस्नेतले बताए ।

धान मात्र नभएर अन्यखेती प्रणालीमा पनि कमी आउँदै गएको उनको भनाइ छ । रुकुमपूर्वमा सावित्री, सुख्खा, स्थानीय र हाइब्रिड जातको धान खेती गरिँदै आइएको छ ।

रुकुमपूर्वको कूल खेतीयोग्य जमिन २० हजार २६५ हेक्टर क्षेत्रफल रहेको छ भने खेती भइरहेको जमिनको क्षेत्रफल १६ हजार ३७० हेक्टर रहेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १५:१७