सूचनाको शक्ति - The Power Of Information

        

तीन घण्टामै समातिए मिलन हत्यामा संलग्न चार युवक

पक्राउ परेका हत्यामा संलग्न व्यक्तिहरु ।

कुटपिट गरेर सडकमा फालेर भागेपछि उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका बाँकेका एक युवकको हत्यामा सहभागी चार युवकलाई प्रहरीले ३ घण्टामै पक्राउ गर्न सफल भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–४ स्थित एलबी चोक नजिक सडकमा गम्भीर घाइते अवस्थामा भेटिएका मिलन भनिने दीक्षित खड्काको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।

बैजनाथ–६, सम्झनाचोक निवासी खड्काको उपचारका क्रममा मृत्यु भएको तीन घण्टाभित्रै प्रहरीले सो घटनामा संलग्न रहेका स्थानीय चार जना युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

हत्या आरोपमा पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–३ निवासी सुन्दर शाही, पूर्ण बुढा मगर, खगेन्द्र थापा मगर र बैजनाथ गाउँपालिका–४ बस्ने गोविन्द विक रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

प्रहरीको मोबाइल टोलीले सोमबार बिहान अन्दाजी दुई बजे रत्न राजमार्ग (कोहलपुर–सुर्खेत) सडक खण्डको बानियाँभार नजिक रहेको एलबीचोकस्थित सडकको बीचभागमा सख्त घाइते अवस्थामा खड्कालाई फेला पारेको थियो ।

गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याए पनि स्वास्थ्य अवस्था जटिल भएको भन्दै थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल लगिएको थियो ।

उपचारका क्रममा सोमबार दिउँसो दुई बजेतिर उनको मृत्यु भएको थियो । उनको मृत्यु भएको तीन घण्टा नबित्दै हत्यामा संलग्न चार जना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी मल्लले बताए ।

घटनास्थलमा बरामद रगत लागेको कपडा र लाठीका टुक्राहरु तालिम प्राप्त कुकुरलाई सुँघाएर अनुसन्धान गर्दा आक्रमण गर्ने युवकको दिशा पत्ता लाग्दा त्यही दिशामा खोजी गर्दा तीन घण्टामै आक्रमण गर्नेहरु पक्राउ परेको मल्लले बताए । प्रहरी नियन्त्रणमा रहेका युवकले कुटपिट गरेको स्वीकारिसकेको उनले जनाए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १५:०७