सूचनाको शक्ति - The Power Of Information

        

आलेख

पुरुषमाथिको यौन हिंसा, पत्याउँदैन समाज

अहिलेको विभिन्न घटनाक्रमले बालिकालाई मात्र होइन बालकलाई पनि यस्ता यौन दुराचारीहरूबाट उत्तिकै सुरक्षित राख्नुपर्छ भन्ने सन्देश दिएको छ ।

पोखराका ३१ वर्षीय अमित बराल नेपालका प्रसिद्ध फेसन डिजाइनर हुन् । नेपालका टप मोडलदेखि चलचित्रसम्म धेरैका लागि फेसन डिजाइनरको रूपमा उनले काम गरेका छन् । उनी यस क्षेत्रमा रमाउँछन्, तर बेलाबखत उनीमाथि भएका यौन हिंसाका घटनाले उनी यस क्षेत्रमा असुरक्षित पनि महसुस गर्छन् ।

फेसन डिजाइनको सुरुवातको समयमा एक चलचित्रको निर्देशकसँगको पहिलो भेटमा हात मिलाउँदा (ह्यान्ड सेक) उनले आफ्नो शरीर चिसो भएर आएको महसुस गरे । सामान्य हात मिलाइ र त्यस निर्देशकको हात मिलाइमा फरक थियो । निर्देशकले उनलाई खराब आशयले हात मिलाएको बरालले महसुस गरेकै कारण प्रतिक्रियाविहीन भएर उनी अन्यौलमा परे ।

बराल भन्छन्, ‘अरुले यो घटना सुन्दा पक्कै नर्मल ह्याण्ड सेक त हो भन्ने लाग्ला, तर मलाई यो घटना सम्झिँदा पनि गाह्रो हुन्छ । किनकी त्यो उहाँले त्यतिबेला मलाई मोलेस्ट गर्नुभएको हो ।’ त्यस पश्चात उनलाई एक नेपाली चलचित्रको फेसन डिजाइनका लागि अफर गरिएको समयमा निर्देशकले सिधै यौन प्रस्ताव गरेको स्मरण पनि छ ।

‘मेरो करियरको पहिलो चलचित्र थियो । मैले अरु नराम्रो सोचिन तर डिरेक्टरले मलाई के दिन्छौं तिमीले अब भन्नुभयो । पछि कतै रात बिताउँ भन्ने प्रस्ताव राख्नुभयो ।’ बरालले यसपछि लगातार धेरैपटक यौन हिंसाको घटना भोगे । क्लबमा जाँदा होस् वा फिल्डमा नयाँ मान्छेहरू भेट्दा होस् उनलाई लगातार यस्तो घटना भइरह्यो ।

उनले भने, ‘म एक केटा भएको कारणले यो घटना बाहिर ल्याउन सकिन । अझै पनि मान्छेहरूलाई केटामाथि हुने यस्ता घटना अचम्म र असम्भव जस्तो लाग्छ । मैले भने पनि कसैले पत्याउदैनन् जस्तो लाग्छ तर यौन हिंसाले महिला र पुरुष भन्दैन ।’ फेसन डिजाइनर बरालले भने जस्तै महिलामाथिका यौन हिंसाका घटना सामान्य रूपमा बाहिर आए जसरी पुरुषमाथिको यौन हिंसाका घटना बाहिर आउँदैनन् ।

फेसन डिजाइनर अमित बराल

घटना आए पनि समाजले पत्याउँदैन भन्ने डर हुन्छ । हालै कास्की माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको एक विद्यालयका बालकहरूमाथि भएको यौन दुर्व्यवहारको घटना बाहिर आएको छ । विद्यालयका संस्थापक रामचन्द्र शाहीले धेरै समयदेखि बालकहरूलाई अप्राकृतिक यौन क्रियाकलाप गर्न बाध्य पारेका रहेछन् । आरोपित लाहाचोकमा सामाजिक प्रतिष्ठा कमाएका व्यक्ति पनि हुन् ।

घटना बाहिर आउँदा सुरुमा सबैले बालकहरू कसैबाट परिचालित भएर आरोप लगाएका हुन् भन्ने थियो । बालकलाई पनि यस्तो हुन्छ र भन्ने प्रश्न भएकै कारण घटनालाई गुपचुप विद्यालय भित्र नै मिलाउने प्रयास पनि गरियो । एकपछि अर्को बालक आफूमाथि यौन हिंसा भएको भनि बाहिर निस्किए र विद्यालय नै बन्द गर्नुपर्ने स्थिति आइसकेपछि भने घटना प्रहरीसम्म पुग्यो ।

माछापुच्छ्रे गाउँपालिका–४ का वडाध्यक्ष मधुसुधन अधिकारीले भने, ‘गाउँका एकदमै सन्त व्यक्ति भएकाले बालकहरूले यी कुरा बाहिर ल्याउँदा कसैको उक्साहटमा बोलेका हुन् कि भन्ने थियो, हामीलाई । त्यसैले पनि वार्ताको प्रयास भएको थियो । तर एकपछि अर्को गर्दै धेरै बालकहरू बाहिर आएपछि घटना भएको रहेछ भन्ने भयो । घटना दुखद् छ ।’

विद्यालयमा अध्ययनरत तथा त्यहाँबाट एसइइ दिएर गइसकेका छात्रहरूले संस्थापक शाहीले दुर्व्यवहार गरेको बताएका छन् । कास्की प्रहरीमा भने ४ जना बालकले शाहीविरुद्ध संयुक्त लिखित जाहेरी दिएका छन् । विद्यालयको अफिस कोठादेखि सुनसान ठाउँमा शाहीले जर्बजस्ती अप्राकृतिक यौन क्रियाकलाप गर्न लगाएको आरोप बालकहरूले लगाएका छन् ।

हाल अनुसन्धानका लागि यौन दुराचारीको आरोप लागेका रामचन्द्र शाही थुनामा छन् । कास्की प्रहरी प्रवक्ता सुन्दरप्रसाद तिवारीका अनुसार यस घटनालाई प्राथमिकता राखेर अनुसन्धान बढाइएको छ । उनले भने, ‘बालबालिकाको विषय भएकाले हामी संवेदनशील छौं र प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छौं ।’

तस्वीर साभार : आइएमडिबी

राष्ट्रिय बालअधिकार परिषद्का गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्ले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै मिडियाले बाल दुर्व्यवहारको घटना सम्बन्धी समाचार बनाउँदा संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘अहिले हाम्रो मुख्य कन्सर्न भनेको बालकहरूको युट्युबमा आइरहेको अन्तरवार्ता प्रति छ । अनुहार नदेखाएर मात्र हुदैन बारम्बर यसबारेमा प्रश्न सोधिरहँदा बालकहरूमा नकरात्मक मनोवैज्ञानिक असर पर्न सक्छ ।’

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था कोपिला नेपालका निर्देशक बिना सिलवालले बालबालिकाले सबैभन्दा सुरक्षित महसुस गर्ने ठाउँ घर र विद्यालयमा भए पनि दुवै ठाउँमा बालबालिका सुरक्षित नरहेको बताइन् । बाल दुर्व्यवहार अक्षम्य अपराध भएको बताउँदै सिलवालले डर त्रास देखाएर बालकमाथि भएको यस्तो घटना अमानवीय भएको बताइन् ।

सिलवालले भनिन्, ‘छोरीहरूलाई यौन दुर्व्यवहार हुन्छ भनेर भनिरहँदा छोरीप्रति अभिभावक, शिक्षक सबै सचेत हुनुहुन्छ तर दुव्र्यवहार छोरालाई पनि हुन सक्छ भन्ने सचेतना नहुँदा घटनाहरू बाहिर आउन सजिलो हुँदैन । छोराहरूलाई मैले यो घटना बाहिर ल्याए के होला भन्ने हुन्छ ।’ उनले अप्राकृतिक भएका कारणले नै बालकलाई हुने यौन दुव्र्यवहारको घटना समाजले नपत्याउने र नबुझ्ने गरेको बताइन् ।

पोखराकी सलिजा श्रेष्ठलाई सानैमा आफन्तबाट यौन दुर्व्यवहार भयो । त्यतिबेला आफूलाई के भएको हो भन्नेबारे उनलाई थाहा थिएन । पछि हुर्कंदै गएपछि बल्ल आफू माथि यौन दुर्व्यवहार भएको रहेछ भन्ने कुरा श्रेष्ठले बुझिन् । इन्टेरियर डिजाइनरसमेत रहेकी श्रेष्ठ अहिले बाल यौन दुर्व्यवहारविरुद्ध आवाज उठाउँदै आएकी छन् ।

सलिजाले महिलामात्र नभएर पुरुषमाथि हुने यौन हिंसाको घटनाप्रति पनि संवेदनशील हुनुपर्ने बताइन् । सलिजाले भनिन्, ‘महिलाका लागि यौन हिंसा भयो भनेर बाहिर आउनु जति सामान्य बनेको छ त्यति नै असामान्य पुरुषलाई यौन हिंसा भयो भन्नुभएको छ ।’ उनले बाल यौन दुर्व्यवहारबाट बालबालिकालाई बचाउन अभिभावककै भूमिका मुख्य हुने बताइन् ।

उनले भनिन्, ‘बच्चालाई राम्रो बोर्डिङ स्कुल हालेको छु भनेर मात्र हुँदैन हरेक दिन बच्चालाई उसको बारेमा सोध्नुपर्छ । उनीहरूलाई दुर्व्यवहारका बारेमा भन्नुपर्छ । अहिलेको विभिन्न घटनाक्रमले बालिकालाई मात्र होइन बालकलाई पनि यस्ता यौन दुराचारीहरूबाट उत्तिकै सुरक्षित राख्नुपर्छ भन्ने सन्देश दिएको छ ।’

 

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १४:३७