सूचनाको शक्ति - The Power Of Information

        

समाचार

किन पुगेन बाँकेका बाढीपीडित किसानको खातामा पैसा ?

किसानको खातामा पैसा पुर्याउन सकस भएको छ । किसानले पेन्सन, सामाजिक सुरक्षा भत्ताको खाता नम्बर दिएका छन् । यसमा बैंकले पैसा जम्मा गर्न मानेको छैन ।

आइतबार नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय बाँके अगाडि धर्ना दियो भने राप्रपाले सोमबार कृषि ज्ञान केन्द्रमा ताला नै लगायो । बाँकेमा दैनिकजसो नै कुनै न कुनै पार्टीले बाढी पीडित किसानलाई राहत दिन माग राख्दै आन्दोलन गरिरहेका छन् ।

गत कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाले बाँकेमा धानबालीमा ठूलो क्षति पुर्यायो । जिल्ला विपद व्यवस्थापन समितिले यहाँका पालिकाबाट लिएको तथ्यांक अनुसार बेमौसमी वर्षाले ३८ करोड ४१ लाख ८६ हजार १६५ रुपैयाँ बराबरको धानबालीमा क्षति पुर्याएको थियो ।

केही पाकेर काटिसकेको र काट्ने तयारी गरेको धानलाई लगातार वर्षाले क्षति पुर्याएपछि चिन्तित बनेका बाढीपीडित किसानलाई खुसी बनाउन सरकारले राहत दिने घोषणा गर्यो । ३८ करोड नै माग गरेर राहत मागिए पनि जिल्लामा १० करोड रुपैयाँ आइपुग्यो ।

त्यो १० करोडमध्ये एक जना किसानलाई क्षतिको ३६ प्रतिशत पहिलो किस्ता दिने निर्णय गरेर बैंक खाता मागियो । निर्देशिकाले पनि सोझै बाढीपीडित किसानको खातामा पैसा पठाउन भनेको छ । आठ वटै पालिकाबाट किसानको बैंक खाता मागियो ।

सुरुमा डुडुवा गाउँपालिकाका किसानको खातामा पैसा पठाइयो । विभिन्न कारणले बाढीपीडित किसानले पैसा पाइसकेका छैनन् । जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत किसानको खातामा पैसा जम्मा गर्न दौडिरहेका छन् ।

किसानको खातामा पैसा पुर्याउन सकस भएको छ । किसानले पेन्सन, सामाजिक सुरक्षा भत्ताको खाता नम्बर दिएका छन् । यसमा बैंकले पैसा जम्मा गर्न मानेको छैन । कतिपय बाढीपीडित किसानले खाता नम्बर त दिएका छन्, केवाइसी भरेका छैनन् ।

कतिपय बैंक मर्ज भएका छन् । बाढीपीडित किसानले मर्ज भइसकेपछि बनेको नयाँ बैंकमा गएर खाता भेरिफाइ गरेका छैनन् । केहीले पीडित किसानमा आफ्नो नाम भरेका छन्, बैंक खाता नम्बर श्रीमतीको दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले धेरै जनाको नाममा एउटै चेक काटेको छ । तीमध्यमा एक जनाको मात्रै खाता नम्बर नमिल्दा कसैको पनि पैसा जम्मा हुन सकेको छैन । बैंकले चेक फिर्ता गर्ने गरेको छ । यी कारणहरूले गर्दा किसानको खातामा पैसा जम्मा हुन सकेको छैन ।

डुडुवामै यस्तो समस्या देखिएपछि अरू सातवटा पालिकालाई किसानको खाता भेरिफाइ गरेर पठाउन निर्देशन दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले प्राविधिक कारणले गर्दा किसानको खातामा पैसा पुर्याउन गाह्रो भइरहेको बताए ।

विपक्षी ठूला पार्टीले बाढीपीडितको राहत रकमलाई इस्यू बनाएर आन्दोलन गरिरहँदा जिल्ला विपद व्यवस्थापन समितिले स्वयं किसान र बैंकको कारणले गर्दा किसानको खातामा पैसा पुर्याउन सकेको छैन ।

बाँकेमा ३९ हजार ४८२ घरधुरी किसानको धानबालीमा क्षति पुगेको थियो । खजुरा गाउँपालिकामा ५ हजार ३१० किसानको ९७ हजार ४३४ कठ्ठामा धानबाली क्षति भएको थियो । खजुराले ५ करोड ६७ लाख ६४ हजार ४४८ रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो ।

नेपालगन्ज उपमहानगरमा ५ हजार ९२२ किसानले ८९ हजार ५४१ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै १० करोड ८ लाख १ हजार २५७ रुपैयाँ माग गरेको थियो भने बैजनाथ गाउँपालिकाले ४ हजार १५ किसानले लगाएको १३ हजार ४६७ कठ्ठामा लगाएको धानबालीमा नोक्सानी भएको भन्दै १ करोड ६९ लाख ५० हजार ९४९ रुपैयाँ माग गरेको थियो ।

यसैगरी, जानकी गाउँपालिकाले ४ हजार ३८६ किसानको ५९ हजार ८११ कठ्ठाको धान नोक्सान भएको भन्दै ४ करोड ३४ लाख ११ हजार ९२७ रुपैयाँ माग गरेको थियो । कोहलपुर नगरपालिकाले २ हजार १९४ किसानको १४ हजार ४५२ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै १ करोड १५ लाख १८० रुपैयाँ माग गरेको थियो ।

यस्तै, राप्तीसोनारी गाउँपालिकामा ४ हजार ६८३ किसानको ६९ हजार ३२७ कठ्ठाको धान नोक्सान भएकाले ६ करोड ६४ लाख ४८ हजार ३४३ रुपैयाँ माग गरिएको थियो । नरैनापुर गाउँपालिकामा ७ हजार ५६८ किसानको १ लाख ९ हजार १३० कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै ५ करोड ७८ लाख ३० हजार २७५ रुपैयाँ माग गरिएको थियो ।

डुडुवा गाउँपालिकाले ५ हजार ४०४ किसानको ६४ हजार ४४९ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै ३ करोड ४१ लाख ५३ हजार २१६ रुपैयाँ माग गरिएको थियो । बाँकेमा ३६ हजार ५०० हेक्टरमा धानखेती हुने गर्दछ । धान उत्पादनमा बाँके जिल्ला आत्मनिर्भर रहेको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १३:३०