सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नयाँ दल घोषणा गर्दै बामदेव

नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने जनाइएको छ ।

एमाले छाडेर नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा लागेका बामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गर्दैछन् । गौतमले आज दिउँसो ३ बजे नयाँ दल घोषणा गर्न लागेका हुन् ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर घोषणा गरिने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । एमाले उपाध्यक्ष भइसकेका गौतम नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा थिए ।

उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै नयाँ पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् । नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

केन्द्रीय कमिटीमा ७० जना रहने फाइनल भएको छ,’ उनले भने, ‘यसको तयारीका लागि आन्तरिकरुपमा असार ११ गते सिद्धार्थ राष्ट्रिय भेला आयोजना गरिएको थियो । १२ चन्द्रागिरिमा सेन्ट्रल कमिटीको मिटिङ पनि बस्यो ।’

आफूहरुको पार्टी सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने अभियान भएको उनको भनाइ छ । पार्टीको संयोजक गौतम नै रहनेछन् भने सचिवमा डिबी कार्की रहेका छन् । यस्तै प्रचार विभाग प्रमुखमा निमकान्त पाण्डे नै रहेका छन् ।

उनले पार्टी दर्ताको प्रक्रियामा रहेको भन्दै त्यसका लागि डकुमेन्ट जुटाउने काम भइरहेको बताए । सो पार्टीलाई साना चार वटा कम्युनिस्ट पार्टीको समर्थन रहेको छ भने अर्को एक राजनीतिक अभियानको पनि समर्थन रहेको छ ।

पाण्डेका अनुसार दर्ता भएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी पार्टीले वामदेवको नयाँ पार्टीलाई सघाएका छन् भने दर्ता प्रक्रिया आम नेपाली पार्टी रहेको छ । यस्तै स्वतन्त्र वामपन्थी समूहले पनि नयाँ पार्टीलाई समर्थन गर्ने सहमति बनेको पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ११:३१