अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकमा मंगलवार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूलो भेल खसेको छ ।
पानीको भेल खस्दा सवारी साधन ओहोर दोहोर हुन नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बिहान ६ बजेदेखि सवारी साधन चल्न सकेको छैन । वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भएपनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरू खसेको छ ।
सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरू खसेको दोभान प्रहरी चौकीका सई विष्णुबहादुर कुँवरले बताए । अहिले दुबै तर्फ सवारी साधनहरु रोकिएका छन् ।
रुपन्देहीसहित धेरै ठाउँमा विहानैदेखी वर्षा भइरहेको छ । वर्षाले ठाउँ ठाउँका सडकहरूमा पानी जम्दा यातायात ओहोर दोहोरमा समस्या भएको छ ।
सत्यपाटी । काठमाडौँ ।