सूचनाको शक्ति - The Power Of Information

        

निर्माणमा बेवास्ता

साढे चार वर्षसम्म सडक निर्माण अधुरै

सडक कालोपत्रे नहुँदा खजुराका स्थानीय धुलोले हैरान छन् ।

निर्माण पूरा नभएको खजुराको सडक ।

१८ सय मिटर सडक निर्माणका लागि कति समय लाग्ला ? ६ महिना, एक वर्ष वा दुई वर्ष ? बाँकेमा चार वर्ष लगाएर १८ सय मिटर सडक निर्माणको काम पनि पूरा हुनसकेको छैन ।

बाँकेको खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर फोरलेन सडक निर्माणको काम साढे चार वर्षदेखि अधुरो छ ।

फोरलेन सडक निर्माणको काम गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाख रुपैयाँमा २०७४ वैशाखमा ठेक्का पाएको थियो । सडक निमार्णका लागि उक्त बजेट सङ्घीय सरकारले दिएको थियो ।

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाएको थियो । सो अवधिमा काम नसकिएपछि कोरोना महामारीको कारण देखाउँदै सरकारबाट ६ महिनाका लागि म्याद थपिएको थियो ।

तर थपिएको म्यादमा पनि काम नसकिएपछि फेरि ६ महिनाका लागि म्याद थपिएको छ । थपिएको समयभित्र पनि काम पूरा हुन नसकेको स्थानीय सतीश निरौलाले बताए ।

सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार कोरोना महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमै काम नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

यसअघि केही महिना पहिले धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीयले नेपालगन्ज–गुलरिया सडक अवरुद्ध पारेपछि गिट्टी हालेर सरफेस ट्रेसिङ गरिएको थियो । तैपनि दुई सातामै पीच उप्किएको थियो ।

सडक कालोपत्रे नहुँदा खजुराका स्थानीय धुलोले हैरान छन् । फोरलेन सडककका सरफेस ट्रेसिङ उप्किएपछि स्थानीयले गुणस्तरमाथि शङ्का गर्दै सडक डिभिजन कार्यालयलाई जानकारी गराएका छन् ।

सडकबारे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले चासो देखाएका छन् । अहिलेसम्म के कारणले सो सडकको निर्माण पूरा हुन नसकेको हो सोबारे जानकारी लिएर निर्माण पूरा गराउन पहल लिने बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ०९:२९