बाँके–बर्दिया लगायत पश्चिम नेपालका पर्यटकीय स्थलमा भारतीय पर्यटक आकर्षित गर्न नेपालगन्जका पर्यटन व्यवसायी सक्रिय भएका छन् ।
कोरोनाका कारण ओरालो लागेको पर्यटन व्यवसायलाई फेरि गति दिन बाँकेका व्यवसायी क्रियाशील भएका हुन् । भारतीय पर्यटकलाई आकर्षण गर्न यहाँको पाँचतारे होटल सोल्टी वेस्ट्रन प्रिमियमले नेपालगन्जमा नेपाल फ्याम ट्रिप ट्राभल ट्रेड फेयर आयोजना गरेर अभियान नै सुरु गरेको छ ।
सुस्ताउँदै गएको पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन आयोजना गरिएको नेपाल फ्याम ट्रिप ट्राभल ट्रेड फेयर मा भारतको उत्तर प्रदेशका लखनउ, कानपुर, बनारस, रायबरेली, गोरखपुर लगायत सहरका १९ जना पर्यटन व्यवसायी सहभागी भएको आयोजकले जनाएको छ ।
भारतीय पर्यटन व्यवसायीलाई नेपालगन्ज र नेपालगन्ज हुँदै पुग्न सकिने बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्ज, स्वर्गद्वारी, कर्णाली चिसापानीदेखि रारा लगायतका पर्यटकीय गन्तव्यबारे जानकारी दिने उद्देश्यले ट्रेड फेयर आयोजना गरिएको होटल सोल्टी वेस्ट्रन प्रिमियमकी सहायक सेल्स तथा मार्केटिङ अफिसर रोजिना महर्जनले बताइन् ।
उनले ट्रेड फेयरमा सहभागी भएका भारतीय पर्यटन व्यवसायी निकै उत्साहित भएको र ठूलो सङ्ख्यामा पर्यटक पठाउने आश्वासनसमेत भएको बताइन् । नेपाल फ्याम ट्रिप ट्राभल ट्रेड फेयरमा सहभागी हुन लखनउबाट आएका सिभिका ट्राभल प्रालिका निर्देशक सुनील भी. सत्यवचनले भारतीय पर्यटक घुमफिरका लागि नेपाल आउने क्रम बढ्दै गएको जनाउँदै आफूहरूले अब झन् धेरै पर्यटक पठाउने बताए ।
भारतीय पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको चर्चा गर्दै उनले नेपालका हिमाल, पहाडका साथै विभिन्न धार्मिक मठमन्दिर, ताल, निकुञ्ज र कला संस्कृति भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको बताए । नेपालगन्ज उपमहानगरपालिकाका पूर्वप्रमुख डा.धवलशमशेर राणाले भारतीय पर्यटकलाई आकर्षित गर्न नेपालगन्जलाई क्यासिनो सिटी र वाटर पार्कको सिटीका रूपमा विकसित गरिएको बताए ।
सत्यपाटी । बाँके ।