सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशसभाको बैठक आज दिउँसो बस्दै

कर्णाली प्रदेशसभा बैठक आज मंगलबार दिउँसो ३ बजे बस्दैछ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आईरहेको बैठक मंगलबार बोलाईएको हो ।

दशौं अधिवेशन अन्तर्गतको १७ औं बैठकमा प्रतिपक्ष दलसँग सरकारले गरेको ७ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । एमालेले आफूसँग भएका सहमति कार्यान्वयन नभए संसद चल्न नदिने अडान छाडेको छैन ।

बजेटमा १७ लाख भन्दा तलका टुक्रे योजना नल्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि संशोधन गरिनुपर्ने लगायतका विषयमा सम्झौता गरेपनि सरकारले अटेरी गरेको एमालेको आरोप छ ।

तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालको अन्तिमतिर पनि एमालेले लगातार प्रदेशसभा अवरुद्ध गरेको थियो । शाहीपछि सरकारको नेतृत्वमा आएका जीवनबहादुर शाहीले भने प्रमुख प्रतिपक्षी दलसँग ७ बुँदे सम्झौता गर्दै संसदको गतिरोध हटाउनु भएको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ०९:१३