सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ८७ प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

 बाँकेमा ८७ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको फाइजर खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठवटै पालिकामा ८७ प्रतिशत बालबालिकाले खोप लगाएका हुन् ।

जिल्लामा ७६ हजार २३९ जनालाई खोप लगाउने लक्ष्य छ । ती मध्ये ६६ हजार ३२३ जना लक्षित बालबालिकाले खोप लगाएका छन् ।

बाँकेसहित २७ जिल्लामा अहिले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने अभियान चलिरहेको छ ।

सोमवारदेखि खोप लिन छुटेका बस्तीमा खोप अभियान शुरु भएको छ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले सत प्रतिशतले खोप लगाएको पाइएको छ ।

१० हजार ३९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकोमा कोहलपुरमा १६ हजार ८५३ जनाले खोप लगाएका छन् ।

यस्तै बैजनाथ गाउँपालिकामा १०१ प्रतिशतले खोप लगाएका छन् । त्यहाँ अन्य जिल्लामा अध्ययन गर्ने र विदामा घर आएका बालबालिका समेत भेटिएकाले उनीहरुलाई पनि खोप लगाइएकाले लक्ष्य भन्दा बढीले खोप लगाएका हुन् ।

राप्तीसोनारीमा ७५.१ प्रतिशत, खजुरामा ७६.९ प्रतिशतले खोप लगाएका छन् । यस्तै जानकीमा ६४.२ नेपालगन्जमा ७६.७, डुडुवामा ५९.३ र नरैनापुरमा ६२.२ प्रतिशत बालबालिकाले खोप लगाएको पाइएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १७:४३