सूचनाको शक्ति - The Power Of Information

        

नवनियुक्त मन्त्रीले लिए शपथ

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई सोमबार दिउँसो राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराएका हुन् ।

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा आइतबार हेरफेर गरेकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति थियो । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै मन्त्री पदको बहाली गर्नेछन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १२:००