अङ्ग्रेजीमा एउटा उखान छ, ‘एभ्री इफोर्ट्स काउन्टस्’ अर्थात् हरेक प्रयासले अर्थ राख्छ । यसलाई आधार मान्दा पनि हामी भन्न सक्छौं, हामीले गर्ने कुनै पनि क्रियाकलापको मूल्याङ्कन भइरहेको हुन्छ र त्यसले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ । कुन क्रियाकलापले हाम्रो जीवनमा के प्रभाव पारिरहेको छ त्यसको जानकारी प्राप्त गर्न हामी कति सचेत भएर बाँचिरहेका छौं भन्नेमा भरपर्छ ।
जीवनमा स–साना अभ्यास वा बानी व्यहोराले पनि ठूलो परिवर्तन ल्याइरहेको हुन्छ । हामीले लगाउने चप्पलजुत्ताले स्वास्थमा खासै केही फरक पर्दैन भन्ने आम नागरिक बुझाइ छ । यो बुझाइ गलत छ । हामीले लगाउने चप्पलजुत्ताले स्वास्थ्यमा धेरै खालका सकारात्मक र नकरात्मक प्रभाव पारिरहेका हुन्छन् । चप्पलजुत्ता पैताला वा खुट्टालाई सुरक्षा दिने वा सुन्दर एवं फेस्नेवल देखाउने वस्तु मात्र कदापि होइनन् ।
चप्पलजुत्ता किन लगाइन्छ ?
पैताला एवं खुट्टालाई सुन्दर देखाउनु चप्पलजुत्ता लगाउनुको प्रमुख उद्देश्य होइन । किनभने कुनै बेला चप्पलजुत्ता आजको स्वरूप र रङमा उपलब्ध थिएनन् । त्यसबेला खाली खुट्टा हिँड्ने नै चलन थियो वा खराउ लगाउने चलन थियो । केहीले डोरी वा अन्य घरेलु वस्तुबाट निर्मित चप्पलजुत्ता बनाएर प्रयोग गर्थे । त्यसबेला चप्पल जुत्ता लगाउनुको प्रयोजन स्वास्थ रक्षा थियो, फेसन थिएन ।
औद्योगिक युग सुरु भएर विश्व बजारको रूपमा विकसित भएपछि चप्पलजुत्ताको उत्पादन र बिक्री वितरण सुरु भयो । अनि चप्पलजुत्ता लगाउनुको प्रयोजन नै बदलियो । चप्पलजुत्ता लगाउनुको प्राथिमक उद्देश्य भनेको पैताला एवं खुट्टालाई घाइते हुनबाट बचाउनु हो । घुलो मैलो एवं तातोचिसोबाट जोगाउनु हो । यी प्राथमिक उद्देश्यको प्रयोजन भनेको व्यक्तिको शारीरिक एवं मानसिक स्वास्थलाई रक्षा गर्नु हो ।
मानसिक स्वास्थ्यको रक्षा गर्नु पनि स्वस्थ हुनु हो भन्ने कुरा थाहा नपाउनेहरूलाई चप्पलजुत्ताको महत्व पनि त्यति धेरै हुँदैन । अहिले चप्पलजुत्ता बिना मान्छेको दिनचर्या सहज रूपमा चल्न सम्भव छैन । सबैले हिँड्दा वा दौडिदा अनिवार्य रूपमा चप्पलजुत्ता लगाएकै हुन्छन् । हिजोआज सुत्दा वा बस्दा समेत लगाउन मिल्ने चप्पलजुत्ता बनाउन थालिएको छ । जुनबेला पर्यावरण शुद्ध र रोगव्याध कम थियो त्यसबेला खाली खुट्टा हिँड्नु नै स्वस्थकर मान्निथ्यो ।
प्रायः सबै मानिसहरू खाली खुट्टा नै हिँड्ने गर्थे । त्यसबेला कि त योगीले खराउ लगाउँथे कि रोगीले घरेलु उत्पादनको चप्पल जुत्ता लगाउने गर्थे । योगीले शरीरस्थ षड्चक्रको जागरण वा योगध्यानबाट शरीरमा उत्सर्जित ऊर्जा संरक्षणको साथै भ्रमण तथा प्रवास यात्राका लागि खराउ लगाउँथे भने रोगीहरू बाध्यताले रोगबाट मुक्त हुन् घरेलु चप्पलजुत्ता बनाएर लगाउने गर्थे ।
उहिले चप्पलजुत्ता लगाउनुको उद्देश्य शरीरको रक्षा वा स्वास्थ रक्षा थियो तर अहिले चप्पलजुत्ता लगाउनुको उद्देश्य भने स्वास्थ्य रक्षासँगै आफूलाई सुन्दर देखाउनु (फेसनेवल बनाउनु) पनि हो । उहिले स्वास्थ्य रक्षा प्राथमिक एवं एक मात्र उद्देश्य हुन्थ्यो । अहिले आफूलाई सुन्दर बनाउने प्राथमिक उद्देश्यले मात्र व्यक्तिहरू चप्पलजुत्ता लगाउन थालेको पाइन्छ । स्वास्थ रक्षाको लागि पनि चप्पलजुत्ता लगाइन्छ भन्ने कुरा नै आजका मानिसहरूले बिर्सिएका छन् ।
रोगी भएपछि मात्र व्यक्तिहरूले स्वास्थ्य रक्षाको लागि चप्पलजुत्ता लगाउनुपर्छ भन्ने अनुभव गर्दछन् । सुन्दर देखिन चप्पलजुत्ता लगाउने होड चलिरहेको अहिलेको समाज मानिसहरूले सिम्पल चप्पल जुत्ता खोज्छ कि त स्टाइलिस्ट । सस्तो, बलियो र आरामदायक पनि खोज्छ तर स्वस्थकर चप्पलजुत्ता खोज्ने चलन भने छैन । चप्पलजुत्ता स्वस्थकर पनि हुनुपर्छ भन्ने दृष्टिकोण नै धेरैमा देखिँदैन ।
कस्तो चप्पलजुत्ता किन्ने, कुन स्वस्थकर हुन्छ ?
अहिलेको समयमा खालीखुट्टा हिँड्न सम्भव छैन । खराउ लगाएर हिँड्न उपयुक्त हुँदैन किनभने त्यसमा बानि पार्न कठिन हुन्छ । यसले गर्दा पनि चप्पलजुत्ता लगाउनै पर्ने अवस्था छ । अतः चप्पलजुत्ता किन्दा वा लगाउँदा दुईवटा महत्त्वपूर्ण विषयलाई ध्यान दिनुपर्छ । पहिलो चप्पलजुत्ता कुन सामग्रीबाट बनेको हो र दोस्रो भनेको चप्पलजुत्ताको डिजाइन कस्तो छ भन्नेमा ध्यान दिन सक्नुपर्छ ।
सुन्दर देखिन चप्पलजुत्ताको डिजाइन विचार गरेजस्तै लगाउँदा सजिलो भएको अनुभूति पनि हुनुपर्दछ । हामीले लगाउने चप्पलजुत्ताको तौल, साइज र आन्तरिक बनोट एवं सोल–हिल (जुत्ताको भुँइछुने भाग)ले सहजताको निर्धारण गर्दछ । सहजताको प्रत्यक्ष सम्बन्ध व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थसँग हुन्छ ।
हिँड्दा वा दौडिँदा हामीले लगाएको चप्पलजुत्तालाई खुट्टासँगै उचाल्दा सामान्य र स्वभाविक अवस्थाको बलभन्दा अतिरिक्त बल नलाग्ने चप्पलजुत्तालाई उपयुक्त तौलको आरामदायी (कम्फर्टेबल) चप्पलजुत्ता मानिन्छ । कस्सिएको वा खुकुलो चप्पलजुत्ता लगाउनु हुँदैन । पैंतालाको लम्बाइ र चौडाइ सहजै अटाउने साइजका जुत्तालाई आरामदायी चप्पलजुत्ता हुन् ।
पैंतालाको औला र कुर्कुच्चो थिचिने चप्पलजुत्ता असहज हुन्छ । यसर्थ यसलाई उपयुक्त साइजको मानिँदैन । चप्पलजुत्ताको आन्तरिक बनोट पनि अति महत्त्वपूर्ण हुन्छ । जसमा चप्पलजुत्ताको तत्लो सतह स्वास्थ्यको लागि निकै संवेदनशील हुन्छ । सहज चप्पलजुत्ताको तल्लो सतह कुर्कुच्चादेखि औंलासम्म भुईसँगको समान उचाइमा हुनुपर्छ । साथै सतह पनि समथर हुनुपर्छ ।
चप्पलजुत्ताको सोल कुर्कुच्चादेखि औंलासम्म भरिएको हुनुपर्छ । चप्पलजुत्तामा हुने तलुवा (सोल) व्यक्तिको पैतालाभन्दा धेरै कडा हुनु पनि राम्रो मानिँदैन । चप्पलजुत्ताको तलुवाले पैताला र जमीन बीचमा हुने टकरावका बेला ‘सक् अब्जर्वर’को रूपमा कार्य गर्दछ । अतः कडा तलुवा भएको चप्पलजुत्ता सहज मानिँदैन किनभने त्यस्तो चप्पलजुत्ताले ‘सक् अब्जर्व’ गर्न सक्दैन ।
हाई हिल भएको चप्पलजुत्ताले लो ब्याक पेन, पिठ्युँ, कम्मर र घुँडामा दुखाइ बढाउने खतरा हुन्छ । खुट्टा र पैतालाको जोर्नीको मांसपेशी तथा नरम तन्तुहरू च्यात्तिने वा सुन्निने सम्भावना धेरै हुन्छ । हाई हिलले ‘भेरिकोस् भेन’को समस्या पनि निम्त्याउन सक्छ । हाई हिल भएको चप्पलजुत्ताले मांशपेशीहरूमा अस्वभाविक दवाब सिर्जना गरेर मनलाई अशान्त बनाउँछ ।
मन अशान्त भएपछि मानसिक तनाव पनि बढ्छ । सन् २००१ मा पेनसिल्भानिया स्टेट युनिभर्सिटिमा हाईहिल चप्पलजुत्ता लगाउने २०० महिलाहरूमा गरिएको एक अध्ययनका अनुसार ५८ प्रतिशतले लो ब्याक पेनको समस्या भएको बताएका थिए । अधिक हाई हिल लगाउँदा ५५ प्रतिशतले अति नराम्रोसँग ब्याकपेनको समस्या भएको बताएका थिए ।
सो अध्ययन अनुसार हिलको हाइट बढ्दै गएपछि शरीरले आफ्नो सन्तुलन मिलाउन अप्राकृतिक चाल चाल्छ । जसको दबाब र तनाव सिधा मेरुदण्डमा पर्दछ । फलतः हाई हिल चप्पलजुत्ता लगाउनेहरूमा ब्याक पेन हुने गर्दछ । हामीले लगाउने चप्पलजुत्ता कुन सामग्रीबाट बनेको छ त्यो विषय स्वास्थका लागि निकै महत्वपूर्ण हुन्छ ।
चप्पलजुत्ता किन्दा यो विषयलाई पनि सबैले सचेतता पूर्वक विचार गनुपर्छ । सामान्यत चप्पलजुत्ता काठ, कपडा (धागो), भेल्भेट, सिल्क, छाला (लेदर), रबर, कर्क, सिन्थेटिक, फोम, पाल, प्लास्टिक, नाइलन, पेट्रोकेमिकल उत्पादनहरू आदिले बन्ने गर्दछन् । यी सबै कच्चा सामग्रीहरूको आ–आफ्नै विशेषता एवं कमजोरीहरू हुन्छन् ।
क्षमता, आवश्यकता र सहजता अनुसार आफूलाई मनपर्ने सामग्रीको चप्पलजुत्ता लगाउने गरिन्छ तर एउटै प्रकार र सामग्रीको चप्पलजुत्ताको प्रयोग गर्नुभन्दा फरक फरक सामग्री आकार र प्रकारका चप्पलजुत्ताको प्रयोग गर्नु स्वस्थकर हुन्छ । अन्य सामग्रीबाट बनेको चप्पलजुत्ता भन्दा प्लास्टिकबाट बनेको चप्पलजुत्ता सस्तो र आकर्षक देखिन्छ ।
अतः हिजोआज प्लास्टिकको चप्पलजुत्ताको प्रयोगकर्ताको संख्या निकै बढेको पाइन्छ । जुन मानव स्वास्थ्यको लागि अस्वस्थकर र पर्यावरणको लागि अति हानिकारक हुन्छ । सन् २००९ मा ‘स्वीडिस सोसाईटी फर नेचर कन्जर्वेसन’द्वारा गरिएको ‘केमिकल्स अप क्लोज’ नामक अध्ययन अनुसार प्लास्टिकको चप्पलजुत्तामा फ्थालेट्स, हेभी मेटल्स् एवं अन्य हानिकारक तत्त्व पाइन्छन् ।
पीभीसी प्लास्टिकलाई नरम बनाउन प्रयोग हुने तत्त्व फ्थालेट्स्ले मानवस्वास्थ्यमा गम्भीर असर पार्दछ । गर्भवती महिलाको गर्भमा समेत यो तत्त्वले नकरात्मक असर गर्दछ । अध्ययनका लागि स्विडेन, भारत, फिलिपिन्स्, दक्षिण अफ्रिका, यूगाण्डा, तान्जानिया र इन्डोनेसिया यी ७ देशबाट नमुना संकलन गरिएको थियो ।
अध्ययनको क्रममा संकलित नमुनाहरूमा २७ मध्ये १७ वटामा हानिकारक तत्त्व भेटिएको थियो । अध्ययनले नमुनाहरूमा १० वटा हेभी मेटल्स्को पनि परीक्षण गरेको थियो । जसमध्ये प्रायः सबै नमुनामा हानीकारक हेभी मेटल्स् केही मात्रामा भेटिएकै थियो । ती हेभी मेटल्स् इण्डोक्राइन, नर्भस् र प्रजनन् प्रणालीलाई हानी पुर्याउने खालका हुन्छन् । जसमध्ये केही क्यान्सर कारक तत्त्व समेत हुन् भने केही एलर्जी कारक पनि हुन्छन् ।
आइएनएस–स्वतन्त्र समाचार
डा.रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) ।