सूचनाको शक्ति - The Power Of Information

        

फ्रेंन्चाईज क्रिकेटको विवाद संसदमा प्रवेश

 फ्रेंन्चाईज क्रिकेट नेपाल टि-२० लिगको सम्झौताको विवाद संसदमा प्रवेश गरेको छ ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपालको आधिकारिक टि-२० क्रिकेट लिगको व्यवसायिक र रणनीतिक अधिकार दिने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय विवादमा तानिएको हो ।

आइतबारको संसद बैठकमा नेकपा एमाले नेता गोकुल बाँस्कोटाले विवादित नेपाल टि-२० लिगको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले विदेशी कम्पनीलाई नेपाली क्रिकेटको सबै कानूनी र प्रोपर्टी अधिकार दिने कुरा सामान्य विषय नभएको उल्लेख गर्दै खेलकुद मन्त्रीले यसमा चासो राख्नुपर्ने धारणा राख्नुभयो ।

क्यानले खेलकुद मन्त्रीको उपस्थितिमा भारतीय कम्पनीसँग लिगको लागि ८ वर्षको सम्झौता गरेको थियो । बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई नेपालको आधिकारिक फ्रेन्चाईज क्रिकेट लिगको अधिकार दिने निर्णयको विरोध भएको हो ।

कुनै विवाद भएमा भारतीय कानून आकर्षित हुने सम्झौताको बुँदाले क्यान र भारतीय कम्पनीबीचको समझदारीलाई थप विवादित बनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार ०९:१५