सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रालयको बिदाइ कार्यक्रममा रामकुमारीको गहभरि आँशु

 शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदा लिएकी छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले २२ जेठमा चार मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ टिम सिफारिस गरेको थियो । तर मन्त्रीहरुले आफूहरुले बनाएको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन चाहे ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत भएपछि उनीहरु हटेनन् । तर शनिबार एकीकृत समाजवादीले अब पर्खिन नसक्ने भन्दै तत्काल सपथ गराउन प्रधानमन्त्रीलाई आग्रह गर्‍यो ।

त्यसको भोलिपल्ट राष्ट्रियसभामा जवाफ दिएकी मन्त्री झाँक्रीले मन्त्रालय पनि छाडेकी छन् । त्यसअघि मन्त्रालयले ‘पत्रकार सम्मेलन र फेरि भेटौंला’ कार्यक्रम राखेको थियो ।

कार्यक्रममा झाँक्री निकै भावुक बनिन् । मन्त्रालयका कर्मचारीले ८ महिना २० दिनमा गरेको कामको फेहरिस्त सुनाउँदा निरन्तर आँशु झारिरहिन् । उनले सञ्चारकर्मीको प्रश्न लिइन्, तर असहज भएको भन्दै जवाफ दिइननन् ।

छोटो प्रतिक्रिया दिएकी एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्रीले गत चैतमा नै मन्त्री फेर्न चाहेको थाहा पाएपछि पूर्व जानकारी दिन आग्रह गरेको बताइन् ।

तर चुनाव समीक्षाका लागि बोलाएको बैठकले मन्त्री फेर्ने निर्णय गरेको र सञ्चार माध्यमबाट थाहा पाउनु परेको गुनासो गरिन् ।

भोलिपल्ट प्रधानमन्त्रीलाई भेटेर के गर्ने भनेर सोधेको र बजेटसम्म काम गर्नु भनेको भन्दै झाँक्रीले भनिन्, ‘आफूले बनाएको बजेटको बचाउ गर्ने रहर थियो । आफूले गरेको काम भन्ने र स्थापित गर्ने रहर थियो ।’

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १९:४७