सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा जीप दुर्घटना, चालकसहित ६ घाइते

बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । जिल्लाको दुर्गाथली गाउँपालिका–३ रकैलतर्फ गैरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडक भन्दा करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा दुर्गाथली गाउँपालिका–७ का ४० बर्षिय चालक रुपाल जप्रेल, बैतडीको सुनर्या गाउँपालिका–२ घर भएका ४५ बर्षिय ललितकुमार पाण्डे घाइते भएका छन् । पाण्डे दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक हुन् ।

त्यस्तै घाइते हुनेहरुमा दुर्गाथली गाउँपालिका–५ का वडाध्यक्ष ४५ बर्षिय वकिल जप्रेल, वडा नं. ४ का ४८ बर्षिय खगेन्द्र मिश्र, वडा नं. ७ का ५२ बर्षिय उद्धव सिंह र वडा नं. ७ कै ४० बर्षिय विष्णुबहादुर दौल्याल रहेका छन् ।

घाइतेहरुको हात, खुट्टा, टाउको र कम्मरमा चोट लागे पनि अवस्था सामान्य रहेको दुर्घटनाका घाइते भएका खगेन्द्र मिश्रले बताए । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन भने घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याइएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी जनक ढुंगानाले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १९:२२