सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

बाँके काँग्रेसको निर्णय, ‘१०४ जना नेता कार्यकर्तासँग स्पष्टीकरण’

नेपाली कांग्रेस बाँकेका सहसचिव विनोदकुमार थारुलाई पनि स्पष्टीकरण सोधिने भएको छ ।

हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको ठहर गरेर नेपाली कांग्रेस बाँकेले १०४ जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाँकेको बैठकले पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै १०४ जना नेता कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

अनुशासन समितिका संयोजक टंकप्रसाद काफ्ले आशिषले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको निवेदन सिफारिसका आधारमा स्पष्टीकरण सोध्ने निर्णय भएको बताए ।

उनले अनुशासन समितिमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार, वडा कार्यसमिति तथा क्षेत्रबाट निवेदन सिफारिस भएका आधारमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४(४)(ङ) बमोजिम ७ दिने स्पष्टीकरण माग गरिने जानकारी दिए ।

स्पष्टीकरण सोधिनेमा सबैभन्दा धेरै डुडुवा गाउँपालिकाका ४७ जना छन् । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका १६ जना, नरैनापुर गाउँपालिकाका १४ जना, राप्तीसोनारी गाउँपालिकाका ८ जना, खजुरा गाउँपालिकाका ७ जना, बैजनाथ गाउँपालिकाका ६ जना र कोहलपुर नगरपालिकाका ६ जना रहेका छन् ।

जिल्ला सदस्य शरदचन्द्र बर्मा, नेपालगन्ज २० का बुथ सभापति जोगेन्द्रप्रसाद यादव, डुडुवा ६ का बुथ सभापति बाबुलाल यादव, नरैनापुर ६ का बुथ सभापति मुनब्बर अली मुकेरी, वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष विन्दुभूषण बस्नेत, पूर्व महाधिवेशन प्रतिनिधि सतेन्द्रकुमार चौधरी लगायत पनि स्पष्टीकरण सोधिनेहरुको लिष्टमा परेका छन् ।

संयोजक काफ्लेका अनुसार नेपाली कांग्रेस बाँकेका सहसचिव विनोदकुमार थारुलाई पनि स्पष्टीकरण सोधिने भएको छ । उनीविरुद्ध पनि आधिकारिक उम्मेदवारलाई असहयोग गरेको विषयमा जिल्ला कार्यालयमा निवेदन परेको जनाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १६:४४