सूचनाको शक्ति - The Power Of Information

        

पर्यटनमन्त्री आलेको राजीनामापछि असन्तुष्ट मन्त्रीहरू दबाबमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् ।

एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो । तर माधव नेपालले निरन्तर ताकेता गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय कार्यान्वयनमा आलटाल गरिरहेका छन् । मन्त्री हेरफेरको बिषयमा विवाद हुँदा पार्टी विभाजनसम्मको रेखा कोरिएको छ ।

पर्यटन मन्त्री आलेले राजीनामा पत्र बुझाएको भए पनि मन्त्री खतिवडा, झाँक्री र श्रेष्ठ पद छाड्ने पक्षमा छैनन् । हालवाला मन्त्रीहरू सकभर आफू नहट्ने र हट्नैपरे नयाँ आफू अनुकुल हुनुपर्ने गरी नेतृत्वलाई दबाब दिइरहेका छन् ।

उनीहरूले पार्टीको निर्णय अपरिपक्व भएको र नयाँ पठाउने मन्त्री समावेशी हुनुपर्ने भन्दै आठ बुँदे लिखित ध्यानाकर्षण पत्रसमेत अध्यक्ष नेपाललाई बुझाएका थिए । मन्त्री हेरफेरमा विवाद हुँदा मन्त्रीसहित १० सांसदले पार्टी संसदीय दलको बैठक राख्न माग गर्दै ८ बुँदे असन्तुष्टि पत्र बुझाएका थिए ।

तर मन्त्री आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । असन्तुष्ट मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेर आफ्नो पदको रक्षा गर्न दबाब बढाइरहेका छन् ।

तर समाजवादीले भने ६ महिनाको लागि सहमतिमै मन्त्रीहरु सरकारमा पठाएको भन्दै पार्टीको निर्णय कार्यान्वनमा जोड दिइरहेको छन् । त्यसो त अध्यक्ष नेपालले पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै नयाँ मन्त्रीहरूको शपथ छिट्टै हुने दाबी गरेका थिए ।

उनले भनेका थिए, ‘हाम्रो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ । मन्त्रीको राजीनामा बोकेर हिँडेको छु, छिट्टै नयाँ मन्त्रीको शपथ हुन्छ । आजै हुने पनि सम्भावना छ ।’

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १६:३०