सूचनाको शक्ति - The Power Of Information

        

लक्ष्मण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

थरूहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीको अगुवाइमा खुलेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनी उक्त पार्टीमा प्रवेश गरेका हुन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा थारूसहित थरूहट थारुवान राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढी सो पार्टीमा प्रवेश गरेका हुन् ।

यसरी पार्टी प्रवेश गर्नेहरूमा रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रन्जित चौधरी, बासुदेव चौधरी, लोकबहादुर लौहार, राजीव कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, शकुन्तला विक, भरत विक लगायत रहेका छन् । रौतहटबाट मनोज चौधरी र कृष्णकान्त चौधरी पनि पार्टी प्रवेश गरेका छन् । पत्रकार सम्मेलनमा लक्ष्मण थारुले कुनै अपराध नगरी आफूमाथि पनि सरकारले जन्मकैदको फैसला सुनाएको टिप्पणी गरे ।

उनले रेशम चौधरी निर्दोष भएको दाबी गरे । उनले टिकापुर घटनामा थारुहरुले बच्चा र प्रहरी मारेको प्रमाण नभएको भन्दै वास्तविक दोषीलाई जोगाएर निर्दोष रेशम चौधरीलाई फसाएको बताए । उनले भने, ‘टिकापुर घटनाको वास्तविक दोषीलाई कारबाही गर्नुपर्छ, रेशम चौधरीसँग घटनाको समयमा कुनै हतियार थिएन । राज्यले झुट्टा मुद्दा लगाएर फसायो, थारुले राजनीति गर्न नपाउने हो ?’ उनले रेशमसँगै जेलमा रहेका सात जना आन्दोलनकारी भए पनि हत्यारा नभएको दाबी गरे ।

आफू बदलाको भावको रुपमा नभई न्याय, समानता र अधिकारका लागि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको जानकारी दिए । थारुले न्याय माग्दै जाँदा नागरिक उन्मुक्ति पार्टीमा निःशर्त प्रवेश गरेको र कुनै पनि जिम्मेवारी दाबी नगरेको समेत स्पष्ट पारे । उनले थरुहट र मधेश जस्ता विभिन्न आन्दोलनलाई बचाउने हो भने सबैले नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नुपर्ने धारणा राखे । यस्तै केन्द्रीय सदस्य रामलाल दमला थारुले हिमाल, पहाड र तराईका सबै नेपालीहरुको अधिकार प्राप्तिको लागि स्थापना भएको स्पष्ट पारे ।

नागरिक उन्मुक्ति पार्टी जन्मिएपछि शासक वर्गहरुको मन मुटुमा धक्का पुगेको उनको भनाई थियो । उनले आफ्नो पार्टीले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको सुनाए । उनले निर्वाचनमा पार्टीले पाएको सफलतालाई युगान्तकारी इतिहास कोर्न सफल भएको रुपमा दर्ज गरे । त्यस्तै, नवप्रवेशी सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टी राज्यले गरेको उत्पीडनको विरुद्धमा स्थापना भएको भएको बताए । चौधरीले नेपालका नेताको कारण निर्दोष नेता रेशम चौधरी जेलमा बस्न बाध्य भएको पनि टिप्पणी गरे ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १६:१२