सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध ओसारपसारविरुद्धको दिवस

लागुऔषधको दलदलमा युवती, ट्याब्लेट ओसारपसार धेरै

लहलहै र बाध्यतामा परेर लागुऔषधको दलदलमा भाँसिन पुगेका उनीहरू उम्किन सकेका छैनन् । पढे लेखेका, उच्च घरानाका युवती पनि कुलतमा फसेको पाइएको छ ।

लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगन्जमा निकालिएको प्रभातफेरि ।

बजारको बसाइँसँगै युवती पनि लागुऔषधको दलदलमा फसेको पाइएको छ । पढ्न वा कामको सिलसिलामा बजारमा आइपुगेका युवती लागुऔषधको कुलतमा फसेका छन् ।

नेपालगन्जमा अहिले २१ जना युवती लागुऔषधको दलदलबाट उम्किने प्रयासमा छन् । महंगो शुल्क तिरेर उनीहरू उपचार तथा पुनर्स्थापना केन्द्रबाट उपचार लिइरहेका छन् । नेपालगन्जमा थुप्रै युवती अझै कुलतमै छन् ।

लहलहै र बाध्यतामा परेर लागुऔषधको दलदलमा भाँसिन पुगेका उनीहरू उम्किन सकेका छैनन् । पढे लेखेका, उच्च घरानाका युवती पनि कुलतमा फसेको पाइएको छ । बाँकेमा २० वटा उपचार तथा पुनर्स्थापना केन्द्र छन् ।

चालु आर्थिक वर्षको असार ७ गतेसम्ममा ८८७ जनाले उपचार सेवा लिएका छन् । त्यसमा ९३ जना महिला थिए । उपचार लिएकामध्ये ५७५ जना डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज हुनेमा ७२ जना महिला छन् ।

अहिले ३१२ जनाको उपचार भइरहेको छ । त्यसमा २१ जना महिला छन् । लागुऔषध कारोबारमा पनि महिला अगाडि नै छन् । सेवन नगर्नेहरू पनि छिटो पैसा कमाउने लोभले कारोबारमा लागेको पाइएको छ ।

लागुऔषध ओसारपसार गरिदिने वा सम्पर्कस्थल बनेर कारोबारमा सघाउने गरेको पाइन्छ । पहाडी जिल्लाका महिलाले चरेश, अफिम बोकेर नेपालगन्ज झर्नु र यहाँका रैथाने मधेसी महिला वा पहाडी युवतीले कारोबार गर्नुलाई नौलो मानिने गरेको छैन ।

अर्थ जुटाउन सक्ने परिवारले आफ्ना सन्तानलाई सुधार्न पुनर्स्थापना केन्द्रमा राख्ने गर्दछन् । पुनर्स्थापना केन्द्रमा बसेर फर्किएका ठूलो संख्या फेरि पूरानै बाटोमा हिँडेको भेटिएका छन् । सहारा पुनर्स्थापना केन्द्रका सञ्चालक अभिराज क्षेत्रीले पुनर्स्थापना केन्द्रको उपचारमा बसेका ६० प्रतिशतमात्रै सफल भएको बताए ।

पुनर्स्थापना केन्द्रमा बसेर निस्किएपछि फलोअपमा नआएका, कोर्स नसिध्याई निस्किका, पारिवारिक एकीकरण अभाव वा आर्थिक अभावले ४० प्रतिशत उपचारबाट फर्किएका व्यक्ति पुनः प्रयोगकर्ता भएको क्षेत्रीको बुझाइ छ । नेपालमा बर्सेनि १२ प्रतिशत नयाँ प्रयोगकर्ता थपिने तथ्यांक छ ।

नेपालगन्जमा योभन्दा बढी रहेको सम्बद्धहरू बताउँछन् । प्रहरी, लागुऔषधी नियन्त्रण ब्यूरोले बाँकेमा दैनिक नै लागुऔषध कारोबारी पक्राउ गर्ने गर्दछ । नेपालगन्ज कारागारमा ७५३ जना थुनुवा रहँदा आधाजसो लागुऔषधका कैदीबन्दी रहेका छन् । जिल्ला प्रहरी वा मातहतका प्रहरी कार्यालयको थुनुवा कक्षमा लागुऔषधका थुनुवा अधिक छन् ।

ट्याब्लेट ओसारपसार धेरै

चालु आर्थिक वर्षको लागुऔषध पक्राउ तथ्यांकलाई हेर्दा ट्याब्लेटको ओसारपसार धेरै भएको देखिन्छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्षमा गत वर्षभन्दा दोब्बर बढी ट्याब्लेट बरामद भएको हो ।

गत वर्ष एक हजार ३१० वटा नाइट्रोजेपाम ट्याब्लेट बरामद भएकोमा यसपाली चार हजार २५ वटा ट्याब्लेट समातिएको छ । त्यस्तै, गतवर्ष एक हजार ७० वटा ट्रामाडोल समातिएकोमा यसपाली दुई हजार ४३० वटा ट्याब्लेट बरामद भएको छ ।

नेपालगन्ज हुँदै सीमावर्ती भारतीय सहर रुपैडिहा पुगेर बाँके लगायत छिमेकी जिल्लाहरू सुर्खेत, दैलेख, दाङबाट आएका व्यक्तिले प्रायः ट्याब्लेट ओसारपसार गरेको पाइन्छ । बाँकेमा गतवर्ष ५७० ग्राम ब्राउनसुगर, २० किलो चरेश, ३४ किलो अफिम, ६८ किलो गाँजा, ३९ लिटर कोरेक्स बरामद भएको थियो ।

यो वर्ष ८९० ग्राम ब्राउनसुगर, १४ किलो चरेश, २४ किलो गाजा, ८ लिटर कोरेक्स समातिएको छ । प्रहरीले गतवर्ष ११ महिलासहित १९६ जनालाई पक्राउ गरेर १२६ जनालाई मुद्दा चलाएको थियो । यो वर्ष १० महिलासहित १८५ जनालाई समातेर ११२ जनालाई मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १४:५१