सूचनाको शक्ति - The Power Of Information

        

अपराध

सूर्य श्रेष्ठसँग ‘लिभिङ टुगेदर’मा थिइन् मृतक गायिका दिलमाया

राती ३ बजेसम्म कोठामै रहेको मोबाइल भेटिएन, यसअघि पनि गरेकी थिइन् आत्महत्याको प्रयास, हत्या भएको प्रहरी आशंका ।

काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मोबाइल अझै फेला परेको छैन । प्रहरीले उनको आत्महत्या नभई हत्या भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । उनको स्थायी घर सुर्खेत हो । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सुसाइड नोट’ आशयको स्टाटस पोस्ट गरिएको थियो ।

शुक्रबार राति १ बजेर २० मिनेटमा उनको फेसबुकमा स्टाटस लेखेको देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार शनिबार बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो ।

त्यसपछि मोबाइलको ‘लोकेसन’ देखिएको छैन । मोबाइलसमेत फेला परेको छैन । त्यसैले उनले आफैँले स्टाटस लेखिन् वा अरू कसैले भन्नेमा पनि प्रहरी अनुसन्धान केन्द्रित छ । मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ ।

दिलमाया पक्राउ परेका सूर्यसँगै ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ । शुक्रबार राति पनि सूर्य दिलमायाको कोठाबाहिर देखिएको बताइएको छ । सूर्यले अर्को विवाह समेत गरेको बताइएको छ । सूर्यसँगको सम्बन्धकै कारण दिलमाया तनावमा रहेको बताइएको छ ।

अनुसन्धानका क्रममा यसअघि पनि दिलमायाले एकपटक आत्महत्याको प्रयास गरेको खुलेको छ । उनलाई अस्पताल लगेर बचाइएको थियो । त्यति बेला पनि सूर्य श्रेष्ठसँगै थिए । प्रहरीले प्राविधिक पाटोबाट घटनाको अनुसन्धान अगाडि बढाएको छ ।

सूर्यको मोबाइल, उनको उपस्थिति लगायत विषयलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी थिइन् । उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । विवाहित थिइन् । तर, पतिसँग सम्बन्धविच्छेद पछि उनी केही वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ । उनका एक छोरा सुर्खेतमा बस्दै आएको बताइएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १४:१०